काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा ‘पावर पोइन्ट’ सम्झौताहरू भएको दाबी गरेका छन्। शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूले भारत भ्रमणमा गरेर आएका राम्रा कामबारे बोल्न पनि नदिइ आलोचना गरेको गुनासो गरे।
ती सबै सम्झौतालाई ‘मुर्रा’ भैँसी ल्याएर आएकोमा केन्द्रित गरिदिएको उनको भनाइ छ। ‘भारत भ्रमणका क्रममा मलाई सकेसम्म एकथरी साथीले बोल्न पनि नदिने। मैले यो गरेर आएको छु भन्न पनि नदिने। र त्यत्रो ‘पावर पोइन्ट एग्रिमेन्ट’हरू छन् त्यो सुन्नै नचाहने। त्यत्रो सिमानाको समस्या समाधान गर्ने कमिटमेन्ट भएको छ। सुन्नै नचाहने। त्यत्रो परियोजना अघि बढ्दैछ भन्नै नदिने बोल्नै नदिने, अनि त्यो सबैलाई केमा केन्द्रित गर्ने भन्देखिन् मुर्रा ल्याएर आएकोमा,’ उनले भने।
उनले आफूलाई मुर्राबारे थाहा पनि नरहेको र त्यसपछि नै खोजेको बताएका छन्। ‘कति समयसम्म त मैले मुर्राको बारेमा बुझेको थिएन। के रहेछ यो मुर्रा भनेर मैले खोजेँ, ७२ सालदेखि कुरा भएको रहेछ मुर्रा ल्याउने। त्यो नेपालको किसानका निम्ति आवश्यक छ भन्ने रहेछ,’ उनले भने, ‘अनेक प्रधानमन्त्री गएर नसकेपछि राम्रो सम्बन्ध भएकाले मैले सक्या हो। यो त किसानको हितमा छ।’
उनले सरकार र गठबन्धनका नेताले गरेका राम्रा कामबारे विरोधीले जनतालाई नभन्ने बताउँदै त्यसबारे जानकारी दिन पनि नेता कार्यकर्तालाई अनुरोध गरे।
कार्यक्रममा उनले भारत भ्रमणका क्रममा सिमा समस्या समाधानबारे छलफल भएको बताउँदै ती समस्या हल गरिने पनि बताए। ‘नेपालको इतिहासमै पहिलो चोटी भारतको प्रधानमन्त्रीले रोष्टममा उभिएर नेपाल र भारतबीचका सिमा समस्या हल गरिन्छ, नेपाल र भारतको सम्बन्धलाई हिमालको उचाईमा लगिन्छ भनेर पहिलो पटक व्यक्त गर्नुभएको छ,’ उनले भने, ‘यो सामान्य कुरा होइन। सरकारको पहलबिना यो भएको छैन।’
उनले भारत भ्रमणका क्रममा विद्युत व्यापार सम्झौता भएको बताउँदै १० वर्षमा १० हजार मेघावाट विद्युत भारतमा निर्यात गर्ने सहमति भएको पनि जानकारी दिए।
यसैगरी अमेरिका भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघको आयोजनामा न्युयोर्कमा हुने सम्मेलनमा जलवायु परिवर्तनका बारेमा आवाज उठाउने पनि उनको भनाइ रहेको छ। उनले नेपालको आवश्यकता र बाँकी रहेका शान्ति प्रक्रियाका कामबारे जानकारी गराउने बताए।
यस्तै आफूले चीन भ्रमणका लागि मन्त्रालयगत रुपमा सुझावहरू मागेको जानकारी उनले दिए। चीनको विशेष चासो नेपालको कृषिमा रहेकाले कृषिमा ठूलो सम्झौता हुनसक्ने संकेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।