काठमाडौं– संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१ बजे बस्ने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरुको अवरोधका कारण आइतबार दुवै सदनको बैठक स्थगित भएको थियो।
आइतबार बिहान ११ बजे बस्ने भनिएपनि ढिलो गरी सुरु भएको प्रतिनिधि सभा बैठकमा एमालेले सुरुमै उठेर विरोध जनाएको थियो। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रतिनिधि सभा बैठक विरोध गरेका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रक्रिया विपरीत नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा विपक्षी दलहरुको विरोध छ। उनीहरले संसद्मा दफावार छलफलपछि मात्रै नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने माग राखेका छन्।
अघिल्लो संसद्का दुवै सदनबाट पारित भएर पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएकी थिइन्। पुन: दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि आएको विधेयक भण्डारीले अलपत्र पारेकी थिइन्।
त्यही विधेयक राष्ट्रपति पौडेलले जेठ १७ गते, बुधबार प्रमाणीकरण गरेका थिए।
एमाले र राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिको पनि विरोध गरेका छन्। भारतसँगको सीमा विवाद सुल्झाउन ‘बंगलादेश मोडेल’ बारे पनि चर्चा भएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति राष्ट्रिय अखण्डता विरोध भएको भन्दै एमालेले विरोध जनाएको छ। उक्त अभिव्यक्तिका सन्दर्भमा प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने र माफी माग्नुपर्ने एमालेको अडान छ।
सोमबार बस्ने प्रतिनिधि सभा बैठकका लागि सम्भावित ४ वटा कार्यसूची तोकिएको छ। सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन्।
यस्तै, बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।
अर्थमन्त्रीले प्रस्ताव पेस गरेपछि आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने अर्को सम्भावित कार्यसूची छ।
यस्तै, बैठकमा २ शोक प्रस्ताव समेत प्रस्तुत हुने कार्यसूची छ। नेपाली कांग्रेसकी नेता तथा पूर्व महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मीना पाण्डे र राप्रपाबाट २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित श्याम सुन्दर टिवडेवालको निधनमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।