काठमाडौं– सरकारले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।
सरकारले शहरी विकास मन्त्रालय अन्तरर्गत चालु आर्थिक वर्षको भन्दा बजेट बढाएर झण्डै दोब्बर पुर्याएको हो। अर्थमन्त्री महतले मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करीब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरिएको बताए।
उनले स्थानिय सरकारसँगको समन्वयमा बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबास हटाइने बताए।
उनले संघीय संसद् भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताए। भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको बताए।
मन्त्री महतले विभिन्न पालिकाकाहरुको भवन पनि लागत साझेदारीमा निर्माण गरिने बताए। उनले लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।