काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक स्थिति अंकमा सुधार भएको तर समाजले सुधारको अनुभव मात्र गर्न नपाएको भन्दै केही समयमा सहज अवस्था हुने दाबी गरेका छन्। चालू आर्थिक वर्षको पहिलो ८ महिनाको आर्थिक तथा वित्तीय अवस्थाबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा गर्भनर अधिकारीले उक्त दाबी गरेका हुन्।
गभर्नर अधिकारीले बजारमा तरलता सहज भयो भने आफैं ब्याजदर घटने र तरलता बढे आफैं बढ्ने बताए। उनले राष्ट्र बैंकले ४:४को स्प्रेड तोकेको भन्दै यो भन्दा धेरै बैंकहरुले नराखेको दाबी गरे। बैंकले दिने ऋण र सर्वसाधारणको बचतमा ब्याज पाउनेबीचमा ४:४ प्रतिशत हुने भन्दै ब्याज बढेपछि घटे पनि बैंकले यहीमात्र पाउने दाबी। ब्याज घटेको फाइदा ऋणदातालाई मात्र हुने उनको तर्क छ।
स्थिति हेर्दा सुध्रेको देखिएको भन्दै उनले गर्वका साथ आफूले अर्थतन्त्र सुधारतिर लागेको दाबी गरे। उनले कुनै समय निन्द्रा नलाग्ने अवस्थाबाट अहिलेको अवस्थामा आएको जिकिर गर्दै उनले पाकिस्तानजस्तो अवस्था नभएको र अब सहज अवस्थामा आएको बताए। अहिले सबैलाई बचाएर लैजानुपर्ने अवस्था रहेको उनको भनाइ छ। उनले आर्थिक सूचकका अंकहरु सुधार हुँदै गएको तर समाजले फिल मात्र गर्न नपाएको बताए।
धेरै मानिसहरुले ब्याज धेरै भएको भनेर छटपटिएको आफूले देखेको तर यो मात्र नभएर बजार किन सहज रुपमा सञ्चालन हुन सकेन भन्ने अवस्थातिर नगएको उनको भनाइ छ। राष्ट्र बैंकप्रति भरोसा र आशा राखेकोमा आफूलाई खुशी लागेको भन्दै उनले १३ प्रतिशत ब्याजमा कर्जा नपुगेको अवस्था पनि विगतमा भएको दाबी गरे। उनले आर्थिक गतिविधिमा शिथिलता आएका कारण यस्तो भएको बताए।
उनले एउटा खाल्डोमा पानी रहेको र त्यसलाई खाली गराइएको पुन: भरिरहँदा नभरिएर फिल नभएको उल्लेख गरे। व्यवसायीलाई फिल हुने गरी अर्थतन्त्र चलाएमान नभएको उनको भनाइ छ।
पछिल्लो प्रतिवेदनमा कस्तो छ अर्थतन्त्रको अवस्था?
फागुन महिनामा मात्र १ खर्ब ५ अर्ब विप्रेषण आप्रवाह
आर्थिक वर्ष ०७९/८० को आठ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ७ खर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको उल्लेख छ।
‘समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई रु. ७९४ अर्ब ३२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिका विप्रेष्रण आप्रवाह १.३ प्रतिशतले घटेको थियो,’ राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। माघ मसान्तसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स भित्रिएको थियो।
आर्थिक वर्षको ८ महिना सकिँदा १ खर्ब भएन पुँजीगत खर्च
फागुन मसान्तसम्मको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार चालूतर्फ ६ खर्ब ८ अर्ब, पुँजीगत तर्फ ८४ अर्ब २६ करोड र वित्तीय व्यवस्था तर्फ ८६ अर्ब १३ करोड खर्च भएको छ। त्यसअघि माघ मसान्तसम्म ६६ अर्ब ३० करोड पुँजीगत खर्च भएको थियो।
वैदेशिक रोजगारीका लागि फागुनमा मात्र करिब ३७ हजारले लिए श्रम स्वीकृति
प्रतिवेदन अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३ लाख ५१ हजार ७६१ पुगेको छ। त्यस्तै, सोही अवधिमा पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या भने १ लाख ९२ हजार ५५९ पुगेको छ।
राष्ट्र बैंकको सोही प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्म ३ लाख १४ हजार ७६७ ले श्रम स्वीकृति लिएका थिए। त्यस्तै, १ लाख ६७ हजार ७०८ ले पुन: श्रम स्वीकृति लिएका थिए।
विदेशी विनिमय सञ्चितीले ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने
प्रतिवेदन अनुसार करिब ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी विनिमय सञ्चिती रहेको छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय तथा आर्थिक प्रतिवेदन अनुसार उक्त तथ्य सार्वजनिक भएको हो।
‘२०७९ असार मसान्तमा रु.१२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिती १५.२ प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा रु.१४०१ अर्ब २१ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिती २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई १० अर्ब ६९ करोड कायम भएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘आर्थिक वर्ष २०७९/८० को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०७९ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितीको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.९ प्रतिशत, ७८.५ प्रतिशत र २४.२ प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए।’
शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा
प्रतिवेदन अनुसार फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ।
‘समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो,’ प्रतिवेदनमा उल्लेख छ।
माघ मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा थियो।
के हो शोधनान्तर स्थिति?
निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो। शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा बाह्य प्रवाह बढी हुन जान्छ।
नेपाल राष्ट्र बैंकले चालू खाता एवम् समग्र शोधनान्तर स्थितिसम्बन्धी विवरण मासिक रूपमा प्रकाशन गर्ने गरेको छ। शोधनान्तर खाताले चालू खाता र पुँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।