काठमाडौं– पछिल्ला ४ दशकमा भएका सबै परिवर्तनले स्विकारेर संसद् र सत्ताको वरिपरी वर्चश्व कायम गर्न सकेका पात्र हुन् शरद सिंह भण्डारी। उनै भण्डारी शुक्रबार १२ औं पटक मन्त्री भएका छन्।
पञ्चायतदेखि बहुदल हुँदै गणतन्त्रसम्मका प्रधानमन्त्रीले आफ्नो ‘क्याबिनेट’मा दोहोर्याइरहेका रहेका भण्डारी पहिलो पटक २०४३ मा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहको नेतृत्वमा वाणिज्य राज्यमन्त्री भएका थिए।
त्यसयता एक दर्जनपटक मन्त्री भएका भण्डारी पुष्पकमल दाहाल प्रचण्डको वर्तमान सरकारमा पनि श्रममन्त्री भएका छन्। करिब ४ दशकदेखि संसदीय राजनीतिमा स्पर्धा गरेका भण्डारी ३५ वर्षदेखि निरन्तर सत्ताको स्वाद लिइरहेका छन्।
महोत्तरीका जमिनदार परिवारका सदस्य भण्डारी यतिधेरै पटक सत्ताको वरिपरी घुमिरहँदा पनि उनले सम्झिने गरी कुनै काम नगरेको जानकारहरु बताउँछन्। गणतन्त्र स्थापनापछि पनि, २०६६ मा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री भएका थिए।
त्यसपछि २०६८ मा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा रक्षा मन्त्री भएका थिए। त्यसबेला उनले दिएको एक अभिव्यक्तिका कारण भण्डारीलाई प्रधानमन्त्रीले पदमुक्त गरेका थिए।
पछिल्लोपटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०६८ जेठमा भण्डारीलाई उर्जा मन्त्री बनाएका थिए। तर सर्वोच्च अदालतको एक फैसलाले उनी १३ दिन मै पदमुक्त भएका थिए।
पञ्चायतदेखि पहिचानको राजनीतिसम्म
भण्डारी पञ्चायतदेखि राप्रपा, कांग्रेस हुँदै मधेस केन्द्रित राजनीतिमा रुपान्तरण भएका नेता हुन्। उनी सत्ता राजनीतिमा जति काबिल छन् संसदीय राजनीतिमा पनि उत्ति नै निपूर्ण छन्।
भण्डारी २०३८ देखि निरन्तर संसदीय राजनीतिमा प्रतिस्पर्धा गरिरहेका छन्। उमेरले ७० नजिक पुगेका भण्डारी संसदीय स्पर्धामा भने २०३८ देखि निरन्तर छन्।
भण्डारी तत्कालीन राष्ट्रिय पन्चायतको २०३८ र २०४३ को निर्वाचनमा महोत्तरीबाट निर्वाचित भएका थिए। पञ्चायत ढलेसँगै उनी २०४८ को आम निर्वाचनमा राप्रपाबाट महोत्तरी ५ मा प्रतिस्पर्धा गरेका थिए। तर उनी पराजित हुन पुगे।
त्यस्तै, २०५१ को मध्यावधि निर्वाचनमा स्वतन्त्र उम्मेवदारी दिएर भण्डारीले महोत्तरी ४ बाट जित निकालेका थिए। त्यो बीचमा कांग्रेस प्रवेश गरेर २०५६ को निर्वाचनमा महोत्तरी ३ बाट निर्वाचित भए।
पञ्चायत र राप्रपाबाट कांग्रेस टुप्लिएका भण्डारी ०६२–०६३ को राजनीतिक परिवर्तन सँगै कांग्रेस छाडेर उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमबाट पहिलो संविधान सभामा महोत्तरी ६ बाट निर्वाचित भए।
२०७० मा भएको दोस्रो संविधान सभामा महोत्तरी १ र महोत्तरी ६ बाट उम्मेदवारी दिएका भण्डारीले दुवै क्षेत्रबाट पराजय ब्यहोरेका थिए। उनि उक्त निर्वाचनमा आफैं अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टीमा थिए।
संविधान जारी भएपछि २०७४ मा भएको निर्वाचनमा महोत्तरी २ बाट भण्डारी राष्ट्रिय जनता पार्टी, नेपालबाट निर्वाचित भएका थिए। त्यसयता गत मंसिर ४ मा भएको आमनिर्वाचनमा भण्डारी महोत्तरी–२ बाट निर्वाचित सांसद हुन्। उनी हाल लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।