काठमाडौं- सन् २०२२ को भारतको मानवअधिकारको अवस्थालाई अमेरिकाले भत्सर्ना गरेको छ। अमेरिकाको विदेश विभागले प्रकाशित गरेको विश्वका केही देशको मानवअधिकार अवस्थाबारेको एक प्रतिवेदनमा उक्त विषय उल्लेख छ।
उक्त प्रतिवेदनले भारतको मानवअधिकार अवस्थालाई लिएर निन्दा गरेको छ। प्रतिवेदनमा भारतमा अभिव्यक्ति स्वतन्त्रता, स्वेच्छाचारी गिरफ्तारी र थुनामा राख्ने मुद्दाहरू, गैरन्यायिक हत्या, उचित प्रक्रिया बिना सम्पत्ति जफत, अल्पसंख्यक समूहहरू विरुद्ध भेदभाव जस्ता विषयले गम्भीर मानवअधिकार उल्लंघन गरेको उल्लेख छ।
सोही प्रतिवेदनमा भारतलाई आफ्नो मानवअधिकार दायित्व र प्रतिबद्धताहरू पालना गर्न कडा रूपमा आग्रह पनि गरिएको छ।
स्वेच्छाचारी गिरफ्तारी वा हिरासतको खण्डमा, प्रतिवेदनले गैरकानुनी गतिविधि रोकथाम ऐनको प्रयोगको बारेमा पनि उल्लेख गरेको छ। प्रतिवेदनले विशेषगरी कश्मिरी मानवअधिकार कार्यकर्ता खुर्म परवेज सहितका धेरैको मुद्दाहरूको सन्दर्भलाई उदृत गर्दै भारतको मानवअधिकारको अवस्थालाई दर्शाएको छ। परवेजलाई गम्भीर अपराधको बहानामा राज्यले पटकपटक गिरफ्तारी गरेको छ।
यस्तै, अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा प्रतिवेदनमा भनिएको छ, ‘सरकारले सामान्यतया अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छ, तर सरकार वा सरकारको निकट मानिने व्यक्तिले सरकारको आलोचना गर्ने सञ्चारमाध्यमलाई दबाब दिएको कथित घटना पनि भएका छन्।’
कश्मिरमा पत्रकारको गिरफ्तारी, शरद पवारको बारेमा अपमानजनक कविता पोस्ट गरेको आरोपमा मुम्बई प्रहरीले केतकी चितलेलाई पक्राउ, दिल्ली पुलिसद्वारा मोहम्मद जुबैरको गिरफ्तारी र अध्यागमन अधिकारीहरूले पुलित्जर पुरस्कार विजेता फोटो पत्रकार साना इरशाद मट्टुलाई यात्रा गर्नबाट रोकेको घटनाहरूलाई उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रताबारे पनि प्रतिवेदनमा चिन्ता प्रकट गरिएको छ।
यस्तै, सोही प्रतिवेदनमा रोहिंग्या मुस्लिम शरणार्थीहरुमाथि हुने दुर्व्यवहारको पनि उल्लेख छ। म्यानमारबाट त्यहाँको जुन्ता शासकले लखेटेका रोहिंग्याहरु शरण माग्दै भारत, बंगलादेश र श्रीलकांमा पस्ने गरेका छन्।
यस्तै, विभेद र हिंसाको कुरा गर्दै जबरजस्ती धर्मपरिवर्तन सम्बन्धी कानुन पारित भएको र नागरिक समाजले ती कानुनलाई संविधानविपरीत भएको भन्दै आलोचना गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा महिला, दलित, आदिवासी र लैंगिक अल्पसंख्यक समुदायका सदस्यहरू विरुद्ध निरन्तर भेदभावलाई पनि उल्लेख गर्दै भारताको मानवअधिकारको अवस्थाबारे चिन्ता प्रकट गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।