काठमाडौं– प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरण धाँधलीपूर्ण र पूर्वाग्रही भएको भन्दै नेपाल प्रेस युनियन काठमाडौं शाखाले आन्दोलनको चेतावनी दिएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै प्रेस युनियन काठमाडौं शाखाले वर्गीकरणको नतिजा खारेज गर्न माग गरेको हो।
आज शाखा अध्यक्ष नकुल अर्यालसहितको टोलीले प्रजिअमार्फत सञ्चार मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो। माग सुनुवाइ नभए आन्दोलन गर्ने अर्यालले चेतावनी दिए। प्रेस काउन्सिलको सम्परिक्षण समितिको सिफारिस लत्याएर सरकार समर्थित पत्रपत्रिकाहरुलाई मात्रै उच्च वर्गीकरणमा पारिएको युनियनको आरोप छ।
‘पत्रपत्रिका वर्गीकरणका दौरान दशकौंदेखि निरन्तर प्रकाशित मूलधारकै पत्रपत्रिकालाई पनि वेवास्ता गरी आचारसंहिता उल्लंघनमा ख्याति कमाएका पत्रपत्रिकाले उच्च ग्रेड पाउनुले प्रेस काउन्सिलको निष्पक्ष भूमिकामाथि प्रश्न उठेको छ।’, युनियनको ज्ञापन पत्रमा भनिएको छ।
‘सत्ताको घोडा’ बन्न तयार नरहेका व्यवसायिक पत्रिकाहरुलाई विभेदपूर्ण व्यवहार गरिएका कारण ज्ञापन पत्र बुझाइएको अध्यक्ष अर्यालले बताए। सरकार निरन्तर प्रेसप्रति आक्रामक बनेको र सत्ताको गुणगान गाउने पत्रकारितालाई मात्रै प्रवद्र्धन गरिएको भन्दै अध्यक्ष अर्यालले प्रेस युनियन कडा प्रतिवादमा उत्रने चेतावनीसमेत दिए।
प्रेस युनियन, काठमाडौंका सचिव महेश गौतमले विभेदकारी वर्गीकरणको तत्काल पुनरावलोकन नगरे चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने जानकारी दिए।
नेपाल प्रेस युनियनका देशैभरका जिल्ला शाखाहरुले पनि बिहीबार प्रजिअमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।