पटना(बिहार)– ‘एक राष्ट्र, एक निर्वाचन’ सैद्धान्तिक रूपमा ठीक भएपनि व्यवहारिक रूपमा असम्भव विकल्प भएको बिहारका मुख्यमन्त्री नितिश कुमारले मङ्गलबार बताएका छन्।
सञ्चारकर्मीद्वारा सोधिएको प्रश्नहरूको जवाफ दिँदै उनले भने,‘लोकसभा तथा सबै राज्यसभाको आउँदा निर्वाचनलाई एकै चरणमा गर्ने कुरा सैद्धान्तिक रूपमा सुन्दर भएपनि यो कुरा व्यवहारमा सम्भव छैन।’
उनले हाल भारतीय जनता पार्टी (बिजेपी) तथा जनता दल (यूनाइटेड)को गठबन्धनमा बिहार सरकारको नेतृत्व गरिरहेका छन्। नितिश कुमारको उक्त भनाइ बिजेपी प्रमुख अमित शाहले भारतीय कानून आयोगका प्रमुखलाई देशव्यापी रूपमा एकै पटक निर्वाचन गर्ने सम्बन्धमा लेखेको विस्तृत पत्र सार्वजनिक भएको ठीक एक दिनपछि आएको हो।
बिजेपी अध्यक्ष शाहले उक्त पत्रमा प्रजातान्त्रिक संरचनालाई बढावा गर्न ‘एक राष्ट्र एक निर्वाचन’ उपयोगी हुने बताउँदै यसबारे देशैभर रचनात्मक बहस चलाउनुपर्ने बताए।
मङ्गलबार प्रमुख निर्वाचन आयुक्त ओपी रावतले संविधान संशोधन नभएसम्म राज्यसभा निर्वाचन र लोकसभा निर्वाचन सम्पूर्ण २९ राज्यमा गर्न सम्भव नहुने बताए। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।