एजेन्सी – आज १३ अगष्ट अर्थात भारतीय अभिनेत्री श्रीदेवीको ५५औँ जन्मदिन। करिव ५ दशक लामो समय अभिनय क्षेत्रमा आफ्नो समय खर्चिएकी श्रीदेवी भारतकै सबै भन्दा पहिलो महिला सुपर स्टार कलाकारका हुन्।
गत वर्ष मात्रै श्रीदेवीले फिल्म क्षेत्रमा प्रवेश गरेको ५०औं वर्ष मनाएकी थिइन्। उनको ५४ वर्षकै उमेरमा वाथटपमा डुबेर दुबइमा निधन भएकाे थियाे। छोटो जीवनमा लामो बलिउड यात्रा तय गरेकी उनले ४ वर्षको उमेरमै फिल्म खेल्न थालेकी थिइन्। ५० वर्षको अभिनय करियरमा ३ सय फिल्ममा काम गरिन्।
यसबाट थाहा हुन्छ कि उनले आफ्नो पूरै जीवन फिल्मका लागि समर्पित गरिदिइन्।
५१ वर्ष पहिले चार वर्षकी एक सानी नानी तमिल फिल्मको पर्दामा देखिएकी थिई। जसले भूमिका भने सानो केटाको थियो। तिनै थिइन्, ‘लेडी अमिताभ’ बच्चनको उपमा पाएकी श्रीदेवी।
तमिल–तेलगू फिल्ममा बाल कलाकारको काम गर्दैगर्दा उनी हिन्दी फिल्मसम्म आइपुगिन्। सन् १९७५ मा हिन्दी फिल्म ‘जुली’मा बाल कलाकारको भूमिकामा देखिएकी थिइन्।
श्रीदेवीले पहिले मुख्य भूमिका साउथ इन्डियन फिल्मका सुपरस्टार रजनीकान्तसँग गरेकी थिइन्। सन् १९७६ मा उक्त फिल्ममा काम गरेकी थिइन्। जहाँ कमल हसनको विशेष भूमिका थियो।
सन् १९७८ मा जब भारतीराजको हिन्दी फिल्म ‘सोलवां सावन’मा श्रीदेवी पर्दामा देखिइन्, सायद हेर्ने कसैको नजर पर्दाबाट हटेन। उनी मोटी थिइन्। त्यो समय श्रीदेवीको वजन ७५ किलोको आसपास थियो। उनलाई मान्छेहरु ‘थन्डर साइज’ भन्न थाले। त्यसपछि १९८३ मा फिल्म ‘हिम्मतवाला’ रिलिज भयो। तर ‘थन्डर साइज’को उपमाबाट मुक्ति मिलेन।
ठूलठूला आँखावाली श्रीदेवीले बिस्तारै आफ्नो काम र अभिनयबाट त्यसो भन्नेहरुको मुख बन्द गरिदिइन्। उनी एकपछि अर्को फिल्ममा आफूलाई यसरी प्रस्तुत गर्न थालिन् कि हिरोका कारण फिल्म चल्ने जमानामा हिरोइनका कारण चल्ने बनाइदिइन्। त्यसैले त्यो समय उनलाई मान्छेहरु ‘लेडी अमिताभ’ भन्न थाले।
परिवारका बारेमा कुरा गर्दा उनका बुवा अयप्पन वकिल थिए। उनकी एक बहिनी श्रीलता र भाइ शतिश छन्। उनका पिताले एकपल्ट कांग्रेसबाट विधानसभाको चुनाव पनि लडेका थिए।
श्रीदेवीको करिअरका लागि उनकी आमाको भूमिका सबैभन्दा धेरै छ। सानी बच्ची हुँदादेखि नै उनकी आमाले सहायता र हौसला दिएर बलिउडसम्मको यात्रा गराइन्।
पूरा प्याकेजवाल बलिउड अभिनेत्रीका कुरा गर्ने हो भने नछुट्ने नाम बन्यो श्रीदेवीको। कमेडी, डान्स, ड्रामा, हरेक विधामा माहिर थिइन् उनी।
नृत्यमा त उनी अब्बल थिइन् नै। ‘हवा हवाई हो’, ‘नैनों में सपना’ यसका गतिला उदाहरण हुन सक्छन्।
फिल्मको उनको चर्चा उकालो चढिरहेका बेला सन् १९९० को दशकमा उनको जीवनमा उथलपुथल आयो। बोनी कपुरसँग विवाह गरिन्, जो पहिल्यै विवाहित थिए।
त्यो समयका क्षमतावान् निर्देशक बोनीसँग उनले फिल्म गरिसकेकी थिइन्। सन् १९९७ मा फिल्म ‘जुदाई’ खेलेपछि उनले लामो समय अभिनय करिअरबाट ब्रेक लिइन्।
सन् २०१२ मा फिल्म ‘इंग्लिस विंग्लिश’बाट फर्केर आइन् त यस्तो लाग्यो कि श्रीदेवी पर्दाबाट बाहिर त कहिल्यै गएकी रहिनछन्।
अघिल्लो वर्ष रिलिज फिल्म ‘मम’ उनको अन्तिम फिल्म भयो।
आफ्ना दुई छोरीप्रति उनको अगाध प्रेम थियो। बलिउडमा छोरीहरु पनि जमेको हेर्ने चाहना थियो। १९ वर्ष भर्खरै पार गरेकी जेठी छोरी जाह्नवीलाई त्यसैले फिल्म ‘धडक’मा अभिनय गर्न उक्साएकी थिइन्। केही महिनापछि रिलिज हुने छोरीको पहिलो फिल्मका लागि उनी अधैर्य थिइन्। तर, छोरीको पहिलो फिल्म हेर्ने भाग्य उनलाई जुरेन। छोरीको मुख्य भूमिका रहेको फिल्म ‘धडक’ रिलिज भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।