काठमाडौं– राजधानीको सडक अवस्थाप्रति ब्यंग्य गर्दै नेपाली कांग्रेसका सांसद गगन थापाले बिमेस्टक सम्मेलनमा भाग लिन आउने पाहुनालाई फरक– फरक होटलमा राख्न सुझाव दिएका छन्। होटल आसपासको बाटोको सडक राम्रो हुने भन्दै सोमबारको संसद बैठकमा उनले यस्तो ब्यंग्य गरेका हुन्।
आगामी भदौ १४ र १५ मा काठमाडौंमा बिमेस्टेक सम्मेलन हुँदैछ।
संसदमा बोल्दै उनले राजधानीको सडक अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण समेत गरेका छन्।
सांसदहरुद्वारा विभिन्न विषयमा ध्यानाकर्षण
सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आ आफ्नो क्षेत्रको समस्याका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद उमाकान्त चौधरीले बारा जिल्लामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकको काम अघि बढ्न नसकेको भन्दै दुवै आयोजनाको स्थिति बारे सदनलाई जानकारी गराउन माग गरे।
सांसद कृष्ण प्रसाद दाहालले राजधानीलाई जोड्ने बैकल्पिक राजमार्ग कान्ति राजमार्गको काम सम्पन्न हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराउदै समयमा काम सम्पन्न गर्न नसक्ने ठेकेदारलाई कारवाही हुनुपर्ने बताए।
सांसद कृष्णभक्त पोखरेलले संविधानको धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त बासस्थानको व्यवस्था हुने उल्लेख भएकाले आवश्यक कानुन निर्माण गरि आगामी असोज ३ गते भित्र असुरक्षित बसोबास गरिरहेकालाई सुरक्षित स्थानमा सार्छु भनि संकल्प गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद खगराज अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थल समयभित्रै सम्पन्न्न गर्ने तर्फ तदारुता देखाउन सरकारको ध्यानाकर्र्षण गराए। उनले विमानस्थल निर्माणमा अवरोध पुर्याउन प्रयास गर्नेलाई कारवाही गर्न पनि माग गरेका छन्।
सांसद घनश्याम खतिवडाले मोरङ जिल्लाको उत्तरमा रहेको चिस्यान खोला र बक्राहा खोलामा निर्माणाधिन पुल र लेटान ६ नम्म्बर बुधबारे मोटर बाटो तथा उर्लाबारी मधुमल्ला रबि बाटो निर्माणमा ठेकेदारको लापरवाही देखिएको भन्दै ठेक्का लिएर पनि समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई आवश्यक कारवाही गर्न माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।