नेपालगन्ज- बाँकेको कोहलपुरस्थित ज्ञानोदय पुस्तकालय दुई पक्षको असमझदारीका कारण विवादमा परेको छ। वर्तमान कार्यसमितिले आफूखुसी आजीवन सदस्यता वितरण गरेको र असमझदारीबीच साधारणसभा खोजेको भन्दै पुस्तकालयमा तालाबन्दी गरिएको छ।
पुस्तकालयका अध्यक्ष लीलबहादुर राना नेतृत्वको वर्तमान कार्यसमितिले साधारणसभा गरेर निर्वाचन तालिका सार्वजनिक गरेपछि असन्तुष्ट पक्षले पुस्तकालयमा तालाबन्दी गरेका हुन्।
'केही आजीवन सदस्यको विरोधका बाबजुद १७औँ साधारणसभा गर्नु, सदस्यताको टुंगो लगाउन नसक्नु र पुस्तकालय जस्तो पवित्र संस्थामा चरम राजनीतिक गुटबन्दी गर्न खोज्नु नै मुख्य विवादको कारण हो,' आजीवन सदस्य राजेन्द्र विष्टले भने।
यसअघि असन्तुष्ट पक्षले बाँके जिल्ला प्रशासन कार्यालयमा सदस्यतासम्बन्धी विवाद टुंगो लगाएर मात्र चुनाव हुनुपर्ने मागसहितको निवेदन दिएको थियो। तर, त्यसको टुंगो नलागेकै अवस्थामा निर्वाचनको प्रक्रिया अघि बढाइएकाले केही आजीवन सदस्यले पुस्तकालयमा तालाबन्दी गरेका हुन्।
यस सम्बन्धमा अध्यक्ष रानाले जिल्ला प्रशासन कार्यालयले विवाद टुंग्याइ प्रक्रिया अघि बढाउन दिएको निर्देशन बमोजिमै साधारणसभा र निर्वाचनको तालिका सार्वजनिक गरिएको बताए। पुस्तकालयमा यसखाले विवाद आउनु लज्जास्पद भएकाले यसको समाधान आपसी समझदारीबाट हुनुपर्ने अधिकांश सदस्यको माग छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।