काठमाडौं– नेकपाकै सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारको आलोचना गरेका छन्। एक सांसदले त अर्थमन्त्री डा युवराज खतिवडालाई हटाउन माग गरेका छन्। सांसद मेटमणि चौंधरीले शुक्रबार प्रधानमन्त्री ओलीसँग यस्तो माग गरेका हुन्।
डा खतिवडाले सरकारलाई अलोकप्रिय बनाउने काम गरेको भन्दै उनले हटाउन माग गरेका हुन्। शुक्रबार प्रदेश ५ का पार्टीका सांसदसँग प्रधानमन्त्रीले संयुक्त भेट गरेका थिए।
सोही भेटमा दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौंधरीले बजेट सार्वजनिक भएसँगै सरकारप्रति जनताको आकर्षण ह्वात्तै घटेको भन्दै त्यसको कारण अर्थमन्त्री भएको बताए।
सांसदहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारजनताको भावना अनुसार काम गर्न प्रतिवद्ध रहेको बताए।
काँग्रेस नेतृत्वको अघिल्लो सरकारले मुलुकको अर्थतन्त्र धराशायी बनाएकाले यस वर्षको बजेटमा वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न नसकिएको सांसदहरलाई प्रष्टाएका थिए।
धराशायी भएको मुलुकको अर्थतन्त्रमा सुधार ल्याएको दावी गर्दै अव जनताको अपेक्षा अनुसार काम हुनेमा ढुक्क हुन पनि पार्टीका सांंसदहरुलाई आश्वासन दिएका थिए।
“हामीले विकास र निर्माणका ठूला–ठूला योजना ल्याएका छौं, शिक्षा र स्वास्थ्यका क्षेत्रमा अभियानहरु सुरु गरेका छौं” प्रधानमन्त्री ओलीले भने“कसैलाई कम्युनिष्ट पार्टीको सरकार बनेकोमा असैह्य भएको हुन सक्छ, तर जनताले विश्वास गरेर सुविधाजनक वहुमत प्रदान गरेको अवस्थामा हामीले देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउनु पर्छ ।”
उक्त अवसरमा नन्दलाल रोकाया, खिमलाल भट्टराई, पूर्णा सुवेदी, हिराचन्द्र के.सी., सोमप्रसाद पाण्डे, तुलसा थापालगायतका सांसदहरुले सरकार र मन्त्रीहरुका काम–कार्वाहीका साथै यो आर्थिक वर्षको वजेटका सम्बन्धमा आआफ्नो धारणा राखेका थिए। कार्यक्रममा सांसदहरुले प्रदेश नम्वर ५ का वाढी, डुवान, जंगली जनावारका आक्रमण, सिंचाइ र बाटोघाटो आदि विषयमा सरकारको ध्यानाकार्षण गराए । प्रत्युत्तरमा प्रधानमन्त्रीले सांसदहरुका सबै चासोहरुको सुनुवाई हुँदै जाने बताएको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए।
हेर्नुहोस् भिडियो-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।