काठमाडौं – शुक्रबारबाट नेपाली फिल्म हलमा ३ नेपाली फिल्म सहित ४ नयाँ फिल्म प्रदर्शनमा आएका छन्।
दिनेश पाख्रिनको निर्देशनमा तयार भएको ‘टिनएज’, सविर श्रेष्ठ निर्देशित ‘कहीँ कतै’ र पुरन थापाको निर्देशनमा तयार भएको ‘पिरिम पर्या छन्’ र हलिउड फिल्म ‘द मेग’ प्रदर्शनमा आएका छन्।
प्रदर्शनमा आएका नेपाली फिल्म अन्तर्गत २ वटामा भने अभिनेता दिलीप रायमाझीको अभिनय छ। सन् २००५ मा प्रदर्शनमा आएको फिल्म मुग्लानपछि पर्दामा आफ्नो उपस्थिति खुम्च्याएका दिलीप सन् २०१८ मा भने केही सक्रिय देखिएका छन्। उनी अभिनित फिल्म नाइँ नभन्नु ल ५ पनि भदौ ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ।
शुक्रबारबाट हल प्रवेश फिल्महरु
कहीँ कतै
दिलीप रायमाझी, किशोर खतिवडा, उमा ‘बेबी’ गिरी, शिवानी गिरी, सोनम बरफुङ्गपा लगायतको अभिनय रहेको फिल्म प्रेमकथामा आधारित छ। सविर श्रेष्ठ निर्देशनमा तयार भएको फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको छ।
सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्। सविर श्रेष्ठकै लेखन रहेको फिल्ममा अभिनेता सोनम बरफुङ्गपा र अभिनेत्री शिवानी गिरीको डेब्यू अभिनय रहेको छ।
पिरिम पर्या छन्
दीलिप रायमाझी, जयकिशन बस्नेत, राजाराम पौडेल, सोभित बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, उमा कार्की, लय संग्रौला, चाँदनी कोइराला लगायतको अभिनय रहेको यो फिल्म माता वसुन्धरा मुभिज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुतिमा तयार गरिएको हो।
कमेडी विधामा तयार गरिएकोे फिल्ममा दिलीप रायमाझी र जयकिसन बस्नेतको हास्य दृष्यहरुलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ।
टिनएज
सुमन उप्रेतीको लेखन रहेको फिल्ममा नरेशवीर सिंह, प्रतीक्षा खड्का, एन्जिला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाह लगायतको अभिनय रहेको छ।
गत हप्ता हल प्रवेश गरेका २ नेपाली फिल्म कायरा र झमक बहादुर पनि प्रदर्शनरत छन्। यससँगै अघिल्ला हप्ताहरुमा लागेका हलिउड तथा बलिउड विभिन्न ९ फिल्म क्युएफएक्स हलहरुमा प्रदर्शन भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।