काठमाडौं– लुसिल रंगशालाबाट कतार विश्वविद्यालयको बेसक्याम्प फर्किँदै गर्दा अर्जेन्टिनी खेलाडीलाई पाँच माइलको रात्रीकालीन बस यात्रा निकै कस्टकर र लामो लागेको थियो। सबैका अनुहार मलिन थिए। एक–अर्कासँग कोही बोल्न चाहिरहेका थिएनन्।
बसको वातावरण यस्तो थियो कि, उनीहरू आफन्तको अन्त्येष्टिबाट फर्किए झैं मुर्झाएका देखिन्थे। साउदी अरेबियाली खेलाडीहरूले केही समयअघि मात्र उनीहरूको ३६ अपराजित यात्राको घमण्ड तोडेका थिए।
अर्जेन्टिना दावेदारको रूपमा कतार विश्वकपमा समावेश भएको थियो। उसको तेस्रो विश्वकप जित्ने महत्वकांक्षामा पहिलो दिन नै साउदीले २–१ गोलको नराम्रो दनक दियो।
यो घटनापछि लिओनल मेसीले रंगशालाको ‘मिक्स जोन’ मा मिडियासँग संक्षिप्त कुराकानी मात्र गरे। ड्रेसिङ रूममा पनि खासै बोल्न रुचाएनन्। तर, अर्जेन्टिनी प्रशिक्षकले जब खेलाडीसँग संवाद सुरु गरे, मेसीलाई लाग्यो– यो उपयुक्त समय हो, आफ्ना सहकर्मीसँग संवाद गर्ने।
अर्जेन्टिनाबाट प्रकाशित पत्रिका क्लारिनका अनुसार यसपछि मेसी उठे र उनले खेलाडीको मुर्छिएको शरीरमा ज्यान भर्ने काम गरे– ‘यो हार, हाम्रो आशाको अन्त्यभन्दा पनि, यो समूह पहिलेभन्दा थप चुनौतीपूर्ण बनेको छ। र, अगाडि बढ्न थप मिहिनेतको आवश्यकता पर्नेछ।’
घटनाको २६ दिनपछि लुसिलको त्यही रंगशाला छोड्दा अर्जेन्टिनी प्रशिक्षक लिओनल स्कालोनी र उनको स्टाफ तथा खेलाडीहरूको आँखामा खुसीको आंशु थियो। अर्जेन्टिनाले सन् १९८६ पछि विश्व विजेता बन्ने गौरव प्राप्त गर्यो।सम्भवतः अर्जेन्टिना तेस्रो पल्ट विश्व च्याम्पियन बन्दा खेलाडीहरूको कानमा मेसीको त्यही बाक्य गुञ्जिएको हुनुपर्छ।
अहिले अर्जेन्टिनाको जितको विषयलाई लिएर विभिन्न कोणबाट विश्लेषण भइरहेको छ। तर, यति कारणले मात्र अर्जेन्टिनाले विश्वकप जितेको मानियो भने कहानी अधुरो हुनेछ।

सटिक योजना, टिम भावना र महत्वपूर्ण समयमा खेलाडी परिवर्तन गर्नसक्ने निपूर्णता नभएको भए सायदै अर्जेन्टिनाले ३६ वर्ष लामो खडेरीलाई तोड्ने थियो। यसमा पनि ३५ वर्षीय मेसीको प्रयोग, जुन रूपमा कतारमा भयो, त्यो आफैमा तारिफयोग्य थियो।
मेसीको चहकिलो करिअरलाई हेर्दा ‘ड्रेसिङ रूम’ मा उनको जुन किसिमको प्रभावशाली उपस्थिति हुनुपर्थ्यो, यसअघि ती विषय ओझलमा पारिएका थिए। राष्ट्रिय टोलीमा मिडफिल्डर हाभियर मास्चेरानोको भूमिका ‘आध्यात्मिक नेता’ जस्तै थियो। त्यसैले यसपालि के हुन्छ, त्यो सबैका लागि जिज्ञासाको विषय थियो।
यद्यपि केही वर्षयता राष्ट्रिय टोलीमा मेसीको आवाज बलियो बन्दै गइरहेको थियो। गत वर्ष सन् २०२१ मा ब्राजिललाई १–० गोलले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जित्नुअघि मेसीले ‘ड्रेसिङ रुम’ मा आफ्ना खेलाडीलाई दिएको उत्तेजक भाषण केही समयमै भाइरल भयो। यसपछि मात्र फुटबल समर्थकहरू मेसीको बदलिँदो भूमिकाप्रति आशावादी बनेका थिए।
एक शब्दमा भर्नुपर्दा–अर्जेन्टिनी समर्थकहरू पहिलो पल्ट मेसीभित्र रहेको ‘टोली नेता’ को गुणबाट अवगत भए। वास्तवमा त्यो गुण उनीसँग पहिलेदेखि थियो। तर, मौकाको अभावमा उनले मैदानमा आफूलाई तिखारी मात्र रहे।
अर्जेन्टिनी जनतामाझ मेसीको छवि परिवर्तन हुनुको अर्को कारण पनि छ। १३ वर्षको कलिलो उमेरदेखि बार्सिलोनामा बस्दै आएका मेसी पहिले मिडियाहरूमा कुराकानी गर्दा स्पेनिस शब्दहरूको उच्चतम प्रयोग गर्थे। तर, यतिबेला उनी अर्जेन्टिनी वाक्यहरू प्रयोग गरिरहेका हुन्छन्।
दुई दशकभन्दा लामो समय बार्सिलोना बसेका आफ्नो देशका ‘हिरो खेलाडी’ को भाषामा आएको परिवर्तन अर्जेन्टिनीहरूका लागि सुखद् नहुने कुरै भएन। यसमा पनि उनीमाथि देखिन थालेको परिपक्वता महत्वपूर्ण मानिन्छ।पहिले मेसी मिडियासँग कुराकानी गर्न हच्किन्थे। उनी अन्तर्वार्तालाई वेवास्था गर्थे। तर, कतारमा उनी जसरी मिडियासँग मुखरित भए, यसले उनको फेरिएको भूमिकालाई इंकित गर्छ।
पहिले उनी हार वा असफलतामा मिडियासँग कुराकानी गर्न डराउँथे। यतिबेला सिनियर खेलाडीलाई अगाडि बढाएर आफू पन्छिन्थे। तर कतारमा अनुकूलता होस् वा प्रतिकूल अवस्था, हरेक क्षण मिडियासँग संवाद गरिरहेको भेटिए। साउदीसँग पराजित खेलमा पनि उनी हारबाट भागेनन्।
अझ, उनले मिडियासामू उभिएर यतिसम्म भन्न भ्याए, ‘हामीमाथि विश्वास बनाइ राख्नुहोस्। आज हामीले पनि ‘मरेको’ महसुस गरेका छौं।’
यी बाहेक पनि मेसीले अर्जेन्टिनी टोलीमा थुप्रै परिवर्तन भित्र्याए। विगतमा सिनियर र जुनियर खेलाडीबीच ठूलो खाड्ल थियो। खाना खाने टेबलमा एकातिर मेसीलगायत मास्चेरानो, लुकास बिग्लिया, एकंल डि मारिया, गोञ्जालो हिग्विन र सर्जियो अगुइरो जस्ता सिनियर खेलाडी हुन्थे भने अर्कोतिर जुनियर खेलाडी।
युरोपेली फुटबलमा राम्रो प्रदर्शन गरेपछि माउरो इकार्डीलाई आफू पनि सिनियर खेलाडीले खाना खाने टेबलको सदस्य भइसकेको भ्रम पलाएको थियो। एकदिन उनले बिना निम्तो यी सिनियर खेलाडीसँग बसेर खाना खाने चेस्टा गरे। तर, उनको व्यवहारबाट कोही प्रभावित भएनन्। र, उनले स्थान गुमाउनुपर्यो।
उनी कतार विश्वविद्यालयमा २०१ नम्बर कोठामा एक्लै बस्थे। सबैलाई अचम्म लाग्नसक्ला– क्रिश्चियन धर्मगुरु पोप सन् २०१३ को भेटिकन चुनावमा बसेको कोठा नम्बर पनि २०१ थियो। मेसी अन्धविश्वासी छैनन् भने उनी बसेको कोठाको नम्बर संयोग मात्र हुनसक्छ।
तर, यसपालि अर्जेन्टिनी टोलीमा न मास्चिरानो उपस्थित थिए। न बिग्लिया, हिग्विन, न अगुइरो नै। सबैले सन्यास लिइसकेका थिए। त्यसैले मेसीलाई सबैसँग खुला टेबलमा बसेर खाना खान कुनै हिचकिचावट भएन।
कतार विश्वकपमा डि मारिया मात्र उनको यस्तो एक्लो सहपाठी थिए, जो लामो समयदेखि उनीसँग फुटबल खेल्दै आइरहेका थिए। मैदान बाहिर मेसीको बडिगार्ड भनेर चिनिने रोड्रिगो डि पाउल, निकोलास ओटामेन्डी र पपु गोमेजसँग मेसी निकै नजिक मानिन्छन्। गत सिजनदेखि लियान्द्रो पारेडेस पनि मेसीको सहपाठीको रूपमा थपिन पुगे, जब उनी पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबमा आवद्ध भए।
स्पेनिस पत्रिका अल पाइसका अनुसार सन् २०१९ मा राष्ट्रिय टोलीमा डि पाउलको आगमन भएपछि उनी र पारेडेस मिलेर मेसीको ढोका ढकढकाउने गर्छन र मेसीलाई जुवा खेल्न निम्तो दिन्छन्। उनीहरू अहिले पनि यसो गरिरहेका छन्।

यी सबै आत्मीय कुराहरू हुन्। यति हुँदा पनि मेसीको टिममा अग्लो स्थान छ। उनी कतार विश्वविद्यालयमा २०१ नम्बर कोठामा एक्लै बस्थे। सबैलाई अचम्म लाग्नसक्ला– क्रिश्चियन धर्मगुरु पोप सन् २०१३ को भेटिकन चुनावमा बसेको कोठा नम्बर पनि २०१ थियो। मेसी अन्धविश्वासी छैनन् भने उनी बसेको कोठाको नम्बर संयोग मात्र हुनसक्छ।
कतार विश्वविधालयमा डि पाउलले ओटामेन्डीसँग कोठा सेयर गरेका थिए। सेन्टर डिफेन्सको भूमिकामा रहेका अनुभवी ओटामेन्डीको कोठामा डि पाउललाई राख्नुको कारण थियो, डिफेन्सिभ मिडफिल्डमा दुवैको एकाग्रता कायम रहोस् भन्नका लागि।
यस्तै, टिमको वाट्सएप समूह सञ्चालन गर्ने जिम्मा पाएका पारेडेसलाई डि मारियासँग एउटै कोठामा राखिएको थियो। यी दुवैको खेल्ने शैलीमा धेरै समानता पाइन्छ। फेरि दुवैले पीएसजीबाट खेलिसकेका थिए। पारेडेस अहिले पनि डि मारियासँगै इटालियन क्लब युभेन्ट्समा आबद्ध छन्।
युवा खेलाडी लिसान्द्रो मार्टिनेज, इन्जो फर्नान्डेज, क्रिस्टियन रोमेरो, जुलियन अल्भारेज र नावेल मोलिनाले पनि एक–अर्कासँग कोठा सेयर गरे। किनभने उनीहरू अर्जेन्टिनाको युवा टोलीमा रहेर लामो समयदेखि सँगै फुटबल खेलिरहेका थिए। मेसीप्रति उनीहरूको उच्च भाव थियो।
अझ, फरर्नान्डेजले त १५ वर्षको उमेरमा मेसीलाई चिट्ठी लेख्दै–१० नम्बरको जर्सीमा मेसीको समर्पणप्रति आफ्नो लगाव रहेको बताएका थिए। मेसीले त्यतिबेला राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए भने मेसीमाथि लागेको आक्षेंपप्रति उनको गहिरो संवेदना थियो। उनले मेसीमाथि भएको नराम्रो व्यवहारप्रति विलाप गर्दै चिट्ठी लेखेका थिए।
कतार विश्वविद्यालयलाई अर्जेन्टिनाले आफ्नो ‘बेस क्याम्प’ बनाउनुको पनि अर्थ थियो। अर्जेन्टिनाको तुलनामा अन्य देशले अत्याधिक सुविधासम्पन्न होटल र स्पा रिसोर्टलाई रोजेका थिए। तर, अर्जेन्टिनाले स्कुले विद्यार्थीले परीक्षा दिन आए सरह कतार विश्वविद्यालयलाई आफ्नो ‘बेस क्याम्प’ बनायो। उनीहरू स्पष्ट थिए– कतार विश्वकप छुट्टि बिताउन नभई मेसी र अर्जेन्टिनाको सपना पुरा गर्न आएको हौं। यो कुरामा उनीहरू सफल भए।

अर्जेन्टिनाको जितको अर्को पनि रहस्य थियो, उनीहरूले आफू बसेको ठाउँलाई घरेलु मैत्री बनाए। खेलाडीका लागि अर्जेन्टिनाबाट २६०० किलो गोरुको मासु कतार पुर्याइएको थियो। यसलाई पकाउन ग्रील मेशिनलगायत स्टोकर पनि सँगै ल्याइएको थियो। अर्जेन्टिनीहरू माझ निकै लोकप्रिय मासुको परिकार ‘असाडो’ (बार्बिक्यु) पकाउन पनि क्याम्पसको चौर उपलब्ध गराइएको थियो।
यी सबै परिकार पकाउन लामो समयदेखि अर्जेन्टिनाको राष्ट्रिय टोलीसँग जोडिएका शेफ डिएगो आइकोभोन पनि कतार पुगेका थिए। उनले क्याम्पसको खुला चौरमा बार्बिक्यु बनाइरहँदा खेलाडीहरू झुम्मिएर बसेको दृश्य रोचक देखिन्थ्यो। यसले खेलाडीहरूमा घुलनको एउटा मानसिकता तयार भयो।
‘मेरो रोजाईको खाना असाडो हो, तर त्यो खानाभन्दा पनि धेरै कुरा हो,’ प्रशिक्षक स्कालोनीले भनेका थिए, ‘यसले टिममा एक जुटको वातावरण र घुलनशीलताको मानसिकता विकास गर्ने काम गर्छ। यो हाम्रो एउटा कला–संस्कृतिको नमुना पनि हो, यसलाई अर्जेन्टिनी विचारधारालाई जोड्ने माध्यम मान्दा पनि हुन्छ। खानपीनको दौरान हामी सँगै बस्ने, हास्ने, थकान दुर गर्ने र एक–अर्कासँग जोडिने गर्छौ। यसका लागि मासु नै आवश्यक पर्दैन तर हामी रुचाउँछौं। यो हाम्रो समूहको अभिन्न अंग भइसकेको छ र यसले हामीलाई एक–अर्कासँग बाध्ने काम गरिरहेको छ।’
अर्जेन्टिनाले खेलको दौरान खेलाडीको परिवारको विषयमा पनि विशेष ध्यान दिएको थियो। विश्वकपका लागि प्रायः सबै खेलाडीको परिवार कतार पुगेका थिए। प्रि–क्वाटर फाइनलमा अस्ट्रेलियामाथि जितपछि टोलीका सदस्यलाईदुई दिन बिदा दिइएको थियो।यतिबेला आफन्तले प्रशिक्षण शिविरमा खेलाडीलाई भेटेका थिए।
क्रोएसियालाई सेमिफाइनलमा पराजित गरेपछि खेलाडीलाई थप केही समय बिदा दिइयो। यद्यपि मेसी फाइनलको तयारीका लागि आफ्नो परिवारभन्दा टाढै बसे। तर, उनले मैदानमा आफूसँग लामो समय बिताएका खेलाडी साथीको साथ भने छाडेनन्।
अर्जेन्टिना फाइनलसम्म पुग्नुको अर्को कारण मेसीका पुराना रुम–पार्टनर अगुइरो पनि हुन्। मुटुको समस्याका कारण ३३ वर्षको उमेरमै गत डिसेम्बरमा उनले फुटबलबाट सन्यास लिएका थिए। कतारमा उनी मेसीको छाँया बनेर बसे।
अर्जेन्टिनाका लागि १ सय १ अन्तर्राष्ट्रिय खेलमा ४१ गोल गरेका अगुइरो खेलकुद च्यानल इएसपीएन अर्जेन्टिनाका लागि कमेन्ट्रेटरको भूमिकामा कतार पुगेका थिए। उनले आफ्नो लागि भिडियो पनि बनाए। खेलाडीको केही अन्तर्वार्ता पनि लिए।

उनको एउटा अन्तर्वार्ताले टिममा मनमुटावको स्थिति पनि पैदा भयो। तर, त्यो छिटै शान्त भयो। साउदी अरेबियासँग पराजित खेलमा लाउटारो मार्टिनेजलाई खेलाउने निर्णयको अगुइरोले आलोचना गरेका थिए। उनले फरवार्ड लाइनमा अल्भारेज उपयुक्त पात्र भएको बताएपछि मार्टिनेजमाथि आक्रामक भएको रूपमा ब्याख्या गरियो। मार्टिनेजले पनि यसलाई निको मानेनन्।
तर, पोल्याण्डविरूद्धको खेलमा मार्टिनेजको स्थानमा अल्भारेजलाई ‘फस्र्ट च्वाइस’ मा खेलाउने स्कालोनीको निर्णयले यी सबै घटनालाई मत्थर पार्यो। नभन्दै अल्भारेजले पनि उत्कृष्ट प्रदर्शन गरे। अगुइरोको दृष्टिकोण अर्जेन्टिनी टोलीका लागि मार्ग दर्शन सावित भयो।
प्रतियोगिताको अन्त्यसम्म आइपुग्दा अगुइरो टिमको लागि ‘लक्की’ बनिसकेका थिए। उनी फाइनलअघि राष्ट्रिय टोलीसँग अभ्यास सत्रमा पनि समावेश भए। उनले एक गोल पनि गरे।
अगुइरोको सन्यासपछि मेसीले आफ्नो कोठा अन्य कुनै खेलाडीसँग सेयर गरेका थिएनन्। तर, फाइनलअघि उनले पुनः अगुइरोलाई आफूसँग रुम सेयर गर्न अनुरोध गरे।
अगुइरोको १३ वर्षीय छोरा बेन्जामिन, जो अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोनाका नाति हुन्, मेसीलाई आफ्नो धर्मबुवा मान्छन्। सेमिफाइनलमा क्रोएसियालाई पराजित गर्दा मेसीले लगाएको जर्सी पहिरेर फाइनल खेल हेर्न उपस्थित भएका थिए। क्रोएसियालाई पराजित गर्दा मेसीले लगाएको जर्सीलाई बेन्जामिनले ‘लक्की जर्सी’ मानेका थिए।
फाइनलमा पेनाल्टीमार्फत फ्रान्सलाई ४–२ गोलले पराजित गरेपछि अगुइरो आफूले लगाउने गरेको १९ नम्बरको जर्सी लगाएर मैदान प्रवेश गरे। उनले मेसीलाई अंकमाल गरे। विश्वकपको ट्रफी बोकेका मेसीलाई आफ्नो काँधमा उचालेर मैदानमा घुमाए।
विश्वकपमा सबैभन्दा महत्वपूर्ण भूमिका प्रशिक्षक लिओनल स्कालोनीको रह्यो। चार वर्षअघि उनले राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्दै गर्दा कसैले पत्याएका थिएनन्। डिएगो म्याराडोनाले समेत उनको विषयमा टिप्पणी गरेका थिए।
सन् २०१८ को विश्वकपमा उनी जर्जे साम्पाउलीको सहायकका रूपमा नियुक्त भएका थिए। तर, अन्तिम–१६ मा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि साम्पाउलीलाई तुरुन्त बर्खास्त गरियो र स्कालोनीलाई अन्तरिम प्रशिक्षक नियुक्त गरियो।

क्लब फुटबलमा राम्रो गरिरहेका माउरिसियो पोचेटिनो र डिएगो सिमेउनी हुँदा हुँदै औसत दर्जाको व्यक्तिलाई अर्जेन्टिनाको राष्ट्रिय टोलीको नेतृत्व सुम्पिएको भन्दै आलोचना भयो। यसअघि स्कालोनीले पनि कुनै क्लबलाई प्रशिक्षण दिएका थिएनन्। तर, रोचक कुरा, उनी अन्तरिमकालका लागि प्रशिक्षक नियुक्त हुँदा अर्जेन्टिनी फुटबल संघको आर्थिक अवस्था निकै कमजोर थियो।
त्यसैले उनको नियुक्तिको विषयमा संघभित्र त्यति ठूलो विवाद भएन। तर, मेसी जस्तो प्रभावशाली खेलाडी टिममा रहेको अवस्थामा खेलाडीको विश्वास आर्जन गर्न स्कालोनीलाई फलामको च्युरा चपाए सरह थियो।
उनले राष्ट्रिय टोलीको वातावरणलाई सहज बनाउन पाब्लो आइमारलाई आफूसँग जोडे। आइमार मेसीको सानैदेखिको प्रेरणादायी खेलाडी थिए। अझ, रोचक कुरा मेसीले १८ वर्षको उमेरमा स्कालोनी र आइमारसँग सन् २००६ को विश्वकप खेलेका थिए।
कोमलो हृदय भएका आइमार कतार विश्वकपमा मेक्सिकोविरूद्ध मेसीले गोल हान्दा रोएको दृश्यले सबैको मन छोएको थियो।
विस्तारै आफ्नो उद्देश्यमा सफल हुन थालेपछि स्कालोनीले प्रशिक्षण टिममा वाल्टर सामुअल र रोबेर्टो आयालालाई पनि समावेश गराएका थिए। अर्जेन्टिनाका पूर्वसेन्टर–ब्याक सामुअल कडा र गम्भीर स्वभावका मानिन्छन्। अर्जेन्टिनाको डिफेन्स लाइन मजबुत बनाउन उनले खेलाडीसँग एक–एक गर्दै अन्तर्वार्ता लिएका थिए।
रेसिङ क्लबको खेलकुद निर्देशक हुँदै भालेन्सिया पुगेका आयालाले खेलाडीको प्राविधिक पक्षको सुधारका लागि ठूलो काम गरे। अर्जेन्टिनी फुटबलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको, यहाँको खेल शैली हो। अर्जेन्टिनी फुटबल प्रशिक्षणमा दुई वटा विचार पाइन्छ। एउटा विचार सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताउने प्रशिक्षक कार्लोस बिलार्डोको हो, जसलाई बिलार्डिस्मो भनिन्छ। यसको ‘स्कुल अफ थट’ भनेको जुनसुकै मूल्य चुकाएर पनि जित्नै पर्छ भन्ने मान्यता हो।
अर्को मेनोटिस्मो हो। सन् १९७८ मा अर्जेन्टिनालाई पहिलो विश्वकप उपाधि दिलाउने प्रशिक्षक सेजर लुइस मेनोटीको ‘स्कुल अफ थट’ लाई मेनोटिस्मो भनिन्छ। जसको खुला प्रभाव दर्शनले अर्जेन्टिनालाई उपाधि दिलाएको हो। स्कालोनीले यी दुवैको वादलाई घुलन गरेर बीचको बाटो अंगीकार गरे। उनले विपक्षीलाई हेरेर रणनीति बुने। रणनीतिलाई नियमित रूपमा फेरबदल गरिरहे र अवस्था हेरेर खेलाडी परिवर्तन गरे।
विश्वकपमा सहभागी हुँदै गर्दा उनले कतारमा भनेका थिए, ‘विश्वकप त्यसले जित्छ, जुन टिमले बुद्धि लगाएर खेल्छ र खेलप्रति सतर्क रहन्छ। कतिबेला आक्रामक बन्ने र कतिबेला रोक्ने, त्यसको तालमेल मिलाउन जान्दछ।’
स्कालोनीले यो विश्वकपमा परम्परागत र बनिबनाउ शैलीलाई अपनाएनन्। वास्तवमा विश्वकप खेल्न कतार आउँदा अर्जेन्टिनी टिम १६ महिनाअघि कोपा अमेरिका जिते जस्तो बलियो थिएन। खेलाडीमा इन्जुरीको समस्या थियो।

तर, प्रशिक्षक स्कालोनीले मेसीलाई मैदानभित्र कप्तानको भूमिका मात्र होइन, प्रशिक्षकको भूमिकाका लागि पनि खुला छोडिदिएका थिए। किनभने मेसीले आफ्नो इच्छा अनुसार काम गर्न पाए भने जतिबेला पनि विपक्षीलाई रणनीतिक हिसाबले झुक्याउन सक्छन्।
मेक्सिकोविरूद्ध अर्जेन्टिनाको समूह चरणको खेल निकै महत्वपूर्ण थियो। यो खेलमा पराजय भोगेको भए मात्र अर्जेन्टिना समूहबाट बाहिरिने थियो। यतिबेला मेसी निकै हतोत्साही थिए। उनी लय समात्न सकिरहेका थिएनन्। उनले डि मारिया नजिकै पुगेर भने– मलाई मध्यभागमा बल उपलब्ध गराउ।
मेसीले आफ्नो प्रतिद्धन्द्धीको कमजोरी नापिसकेका थिए। उनलाई थाहा भइसकेको थियो–मेक्सिकोको सेन्टर कमजोर छ। नभन्दै ६४ मिनेटमा डि मारियाले मध्य भागमा मेक्सिकोका डिफेन्डरभन्दा २ मिटर अगाडि मेसीलाई बल उपलब्ध गराए।
त्यसपछि मेसीलाई के चाहियो, उनले बल टच गर्दै विपक्षी गोल पोस्टको जाली चुमाए। ‘उ सुघ्ने कुकुर वा शिकारी जस्तै हो। उ जतिबेला पनि यताउति हेरिरहेको हुन्छ,’ अर्जेन्टिनी पत्रकार मार्टिन माजुर, खेल अध्ययन गर्ने मेसीको गजबको क्षमता देखेर चकित पर्ने गर्छन, ‘जतिबेला उ हिँडिरहेको हुन्छ। उ शिकारको खोजीमा हुन्छ। उसको खेल भनेको प्रकृतिसम्बन्धि वृत्तचित्र बनाए जस्तै हो। अब के गर्छ भन्ने थाहा नै हुदैन।’
स्कालोनीले पनि जतिबेला हस्तक्षेप गर्नुपर्ने हो, आवश्यकता अनुसार हस्तक्षेप गरे। साउदीसँग पराजित भएपछि जतिबेला टोली अभ्यास सत्रमा फर्किदै थियो। उनले खेलाडी र प्रशिक्षकबीच एउटा मिटिङ बोलाए।
उनले बैठकमा कुनै किसिमको तमासा खडा गरेनन्। शान्तसँग बसेर खेलको विश्लेषण गर्न थाले। खेलाडीको दबिएको आत्मविश्वासलाई उठाउने कुरा गरे। ठूलो प्रतियोगिता नखेलेका अनुभवहिन खेलाडीमा यस्तो नतिजाले नकरात्मकता सिर्जना गर्ने गर्छ।
खेलाडीको मनोबल उकास्न डि मारिया, गोमेज, डि पाउल र इमिलियानो मार्टिनेजले सकारात्मक म्यासेज ठेली हाल्थे। म्यासेज स्पष्ट हुन्थ्यो– निराशामा नबस्।
स्कालोनीको योजना निकै बृद्धिमतापूर्ण हुन्थ्यो। उनले पुरै अभियानलाई भावनामा ढालिसकेका थिए। मेसीलाई उनको करिअरकै ठूलो उपाधि दिलाउने अभियान मात्र होइन, देशलाई एकजुट बनाउने अभियानका लागि पनि उनले सबैलाई भावनामा ढालेका थिए।
अर्जेन्टिनाले कतार विश्वकप जित्नुको अन्य कारण पनि छन्। यसमा खेलाडी र प्रशिक्षकको भूमिका आफ्नो ठाउँमा होला, तर पुरा विश्वमा अर्जेन्टिना र मेसीप्रति बढेको सहानुभूतिको लहर अचम्मकै थियो। अर्जेन्टिनाको जितमा अर्को छुटाउन नहुने पात्र हुन्, गोलकिपर मार्टिनेज। किशोर अवस्थामा टिभीमा आउने कार्टुनका एक पात्र जस्तो लाग्ने मार्टिनेज यही कारण साथीभाई माझ ‘डिबु’ को उपनामले चर्चित छन्।

गत वर्ष अर्जेन्टिनाले कोपा अमेरिका जित्दा मेसीले जितको श्रेय मार्टिनेजलाई दिएका थिए। आफ्नो दबंग छवीका कारण उनी चर्चामा रहने गर्छन। विश्वकपमा पनि त्यस्तै भयो। विश्वकप भन्दाअघि पारेडेसलाई झोक्की खेलाडीको रूपमा ‘वाट्स एप’ समूहबाट कुनै खेलाडीलाई हटाउनु पर्यो भने कसलाई हटाउँछौं भनेर प्रश्न सोधिएको थियो। उनले त्यतिबेला मार्टिनेजको नाम लिएका थिए।
अस्टन भिलाका गोलरक्षक मार्टिनेजले कतार विश्वकपमा थुप्रै विरोधीबढाए। उनी सबैभन्दा आलोचित भएको क्षण भनेको आइतबारको फाइनल थियो। जब उनले उत्कृष्ट गोलकिपरको रूपमा ‘गोल्डेन ग्लोब्स’ अवार्ड जिते, त्यसलाई आफ्नो ‘प्राइभेट पार्ट’ नजिक राखेर विरोधीलाई उल्याउन खोजेका थिए।
नेदरल्याण्ड्सविरूद्ध १८ वटा कार्ड देखाइएको खराब क्वाटर फाइनल खेलमा मार्टिनेजले उत्कृष्ट पेनाल्टी रोक्दै आफ्नो टोलीलाई सेमिफाइनलको यात्रा गराएका थिए। खेल सम्पन्न भएपछि उनले डच प्रशिक्षकमाथि पनि अनावश्यक ‘प्रोभोक’ गरेको आरोप लगाएका थिए।
मैदानभित्रभएको घटनाको विषयप्रति मेसीको पनि आपत्ति थियो। अझ, उनले प्रशिक्षक लुई फ खाल (स्पेनिस भाषामा भान गालको नाम) लाई अर्जेन्टिनी खेलाडीप्रति सधै नकरात्मक सोच राख्ने प्रशिक्षकको दर्जा दिए। खेल सकिएपछि कुरा गर्न आएका वोउट वेगहर्स्टलाई ‘के च्याउन आएको, मुर्ख’ भन्दै हकारेका थिए।
खेलाडी छिर्ने टनेलमा मेसीसँग हात मिलाउन आएका वेगहर्स्टसँग सम्भावित झगडाको आशंका गर्दै अगुइरोले बीचैमा अवरोध उत्पन्न गर्नुपरेको थियो।
अझ, सबैभन्दा रोचक कुरा जितपछि उत्सव मनाउन ‘ड्रेसिङ रुम’ छिरेका मार्टिनेजले फाइनलमा ह्याट्रिक गोल गरेका केलियन एमबाप्पे र जसको गोल अन्तिममा रोकेका थिए, किङ्सले कोमनको मजाक उडाए।
वास्तवमै यसपालिको विश्वकपमा अर्जेन्टिनाले आफ्नो समर्थकको शरीरमा थप उर्जा थपेको थियो। अर्जेन्टिनी टिम पहिलो पल्ट विश्वविद्यालय भएको क्याम्पमा उत्रिदा बिहानको पौने ४ बजेको थियो। तर, खेलाडीलाई स्वागत गर्न १ हजार दर्शकहरू उपस्थित भएका थिए।
त्यसैले खेलको दौरान मार्टिनेजले भनेका थिए, ‘हामीलाई लागिरहेको छ, हामी यहाँको स्थानीय टिम हौं। हामीलाई अर्जेन्टिनामै खेले जस्तो भइरहेको छ।’
यसपालि अर्जेन्टिनी जनताले आफ्नो टिमप्रति देखाएको प्रेम वास्तवमै तरिफयोग्य थियो। करिब ४० हजारको हाराहारीमा अर्जेन्टिनीहरू कतार पुगेका थिए। अर्जेन्टिनामा अहिले ठूलो आर्थिक संकट छ। तर, समर्थकहरू गाडी बेचेर, जागिर त्यागेर, श्रीमतीसँग पारपाचुके गरेर, बैंकबाट कर्जा लिएर विश्वकप जितेको इतिहासको साक्षी बन्न कतार पुगेका थिए।
स्पेनिस भाषामा एउटा नाटक छ, ला ब्रुजिनेटा। ब्रुजा भनेको बोक्सी र ला स्कलोनेटा भनेको राष्ट्रिय टोलीको उपनाम हो। फाइनलको पूर्वसन्ध्यामा सयौं बोक्सीहरूको सामुहिक समूह ‘तथाकथित ला ब्रुजिनेटा’ का समर्थकहरूले अर्जेन्टिनाका खेलाडीहरूमा नकारात्मक उर्जा नपरोस् भनेर पूजापाठ गराएका थिए। यो समूहको अहिले ट्वीटरमा २८ हजार समर्थक छन्।

अर्जेन्टिनाको जितलाई लिएर अहिले राजधानी ब्युनोस आयर्समा उत्सवको माहोल छ। खेलाडीहरू ब्युनोस आयर्सको प्लाजा डे ला रिपब्लिकामा पुग्दा, लाखौं समर्थकले गीत गाएर, ड्रम बजाएर र उत्तेजित नारासहित उत्सव मनाए।
विजय उत्सव अझै सकिएको छैन। विश्वकप विजयपछि बच्चा जस्तै स्कालोनी रोएको दृश्यले अर्जेन्टिनाको जितलाई थप आनन्दित तुल्याएको छ। किनभने मैदानमा सधैं शान्त देखिने स्कालोनीले यतिबेला आफ्नो आशु थाम्न सकेनन्।
साउदी अरेबियासँग अर्जेन्टिनाको हारपछि प्रशिक्षक स्कालोनीको गृह जिल्ला पुजातोका वासिन्दाहरूले पुजाअर्चना गरेका थिए। मेक्सिकोसँगको खेलअघि लगाइएको त्यो पुजामा स्कालोनीको फोटो र अर्जेन्टिनाको झण्डा राखिएको थियो। मेक्सिकोविरूद्धको खेलमा अर्जेन्टिना विजयी भएपछि स्थानीय ओले अखबारका पत्रकार डिएगो कोरोलले त्यो दृश्य स्कालोनीलाई देखाएका थिए। यतिबेला स्कालोनी निकै रिसाए।
तर, अर्जेन्टिनाले फाइनल जितेपछि तिनै पत्रकारले स्कालोनीलाई पुनः सम्पर्क गरे। र, फेरि स्कालोनीलाई सफलताको कामना गर्दै पुजातोका जनताले लगाएको पुजाको भिडियो देखाए। यतिबेला स्कालोनीले आफ्नो आशु रोक्न सकेनन्। उनी मैदानमै घ्वाँ घ्वाँ रोए।
– दि एथलेटिकबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।