काठमाडौं– संघीय संसद राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा मस्यौदा कार्यविधिमाथि छलफल सुरु गरिएको छ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा समितिको सचिवालयले तयार पारेको कार्यविधिको मस्यौदामाथि प्रारम्भिक छलफल सुरु गरिएको हो। बैठक सुरु हुने बित्तिकै समितिका जेष्ठ सदस्य हरिचरण शिवाकोटीले समितिको मस्यौदा कार्यविधिमाथिको छलफलमा भाग लिन समितिका सदस्यहरुलाई आग्रह गरेका थिए।
कार्यविधि मस्यौदामाथिको छलफलमा भाग लिँदै समितिका सदस्यहरुले ऐनको प्रभावकारी कार्यान्वयन हुने गरी काम गर्ने व्यवस्था कार्यविधिमै उल्लेख गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। समितिका सदस्य परशुराम मेघी गुरुङले ऐन कार्यान्वयनका लागि आवश्यक सुझाव सरकारलाई दिने गरी कार्यविधिमै व्यवस्था गर्न उपयुक्त हुने धारणा राखे।
समितिका अर्का सदस्य बद्रीप्रसाद पाण्डेले समितिको कार्यविधि बनाउन कार्यदल नै गठन गर्नुपर्नेमा जोड दिए। विधेयक व्यवस्थापन र ऐनको प्रभावकारी कार्यान्वयन भए/नभएको अनुगमन गर्ने समितिको कार्यविधि पनि सोही अनुसार आउनुपर्ने भएकाले कार्यदललाई सो जिम्मेवारी दिन उपयुक्त हुने उनको तर्क थियो।
समितिकी सदस्य नन्दा चपाईंले विज्ञहरुलाई पनि बोलाएर समितिको कार्यविधि बनाउन सुझाव दिइन्। विज्ञहरुसहितको छलफलले समितिको कार्यविधि राम्रो बन्ने उनको भनाइ थियो।
समितिको अर्को बैठक भोलि (शुक्रबार) अपरान्ह १ बजे बोलाइएको छ। भोलि बस्ने समितिको बैठकमा कार्यविधिलाई अन्तिम रुप दिने एजेन्डा तय गरिएको समितिका जेष्ठ सदस्य शिवाकोटीले जानकारी दिए।
समितिको कार्य क्षेत्र भित्र राष्ट्रियसभामा प्राप्त विधेयकमाथि छलफल तथा विधेयक व्यवस्थापन, ऐन कार्यान्वयन मापन र अध्ययन, अनुसन्धान सम्बन्धि विषय पर्दछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।