काठमाडौं– प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था समितिले सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई संसोधनसहित संघीय संसदमा पठाउने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले विधेयकमाथि सामान्य छलफल गरी संसोधनसहित संघीय संसदमा पठाउने निर्णय गरेको हो। समितिको बैठकको सभापतित्व गरेका जेष्ठ सदस्य दिलेन्द्रप्रसाद बढुले संसोधन सहित विधेयकलाई संघीय संसदमा पठाउन राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको बताए।
सदस्यहरु सञ्जय गौतम र मिनाक्षी झाले मुल ऐनको दफा १२ को प्रस्तावित संशोधनमा ‘सम्भव भएसम्म’ भन्ने शब्द झिक्नुपर्ने भन्दै संसोधन प्रस्ताव दर्ता गराएका थिए।
गौतम र समिति सदस्य देवेन्द्र कँडेलले नजरबन्दमा राखिएका व्यक्तिलाई छोड्नुपर्दा उनको परिवार वा नजिकको नातेदारलाई रोहबरमा राख्नु उपयुक्त हुने भन्दै त्यहाँ उल्लेखित ‘सम्भव भएसम्म’ भन्ने शब्द झिक्नुपर्ने धारणा राखे।
समितिबाट सर्वसम्मति पारित भएको सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक २०७५ आगामी प्रतिनिधिसभाको बैठकमा पेस हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।