काठमाडौं– तीन हप्ता लामो युरोप भ्रमणबाट फर्किएका नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले वैकल्पिक शक्तिको सान्दर्भिकता झनै बढेको महसुस भएको बताएका छन्।
बुधबार साँझ स्वदेश फर्किएका भट्टराईले विश्वव्यापी रुपमा नै पुराना राजनीतिक विचार, शक्तिहरुबाट जनतामा वितृष्णा पैदा भएको र युरोपका कतिपय देशहरुमा पुराना पार्टीहरुबाट देशको समस्या हल हुन नसकेको र नयाँ शक्तिहरुको उदय हुँदै गएको देखेको बताएका छन्।
'२१औं शताब्दीको सुरुमा हिजोको शितयुद्धकालीन बजारमुखी उदारवादी पुँजीवाद र राज्यनियन्त्रित समाजवादका जुन दुईवटा धार थिए ती शक्तिहरुको विकल्पमा क्रमशः जनताले प्रगतिशील लोकतान्त्रिक तेस्रो धार खोजेको हामीले देख्यौं', भट्टराईले भने, 'त्यसैले नेपालमा पनि हामीले वैकल्पिक राजनीतिका कुरा गरिराखेका छौं। त्यसको सान्दर्भिकता थप बढेको हामीले महसुस गर्यौं।'
भट्टराईले पुराना राजनीतिक शक्तिहरुको विकल्प दिँदा सतही ढंगले रुप पक्षमा मात्रै केन्द्रित भएर विकल्पका कुरा गरियो भने दक्षिणपन्थी प्रकारका विकल्पहरु अगाडि आउने खतरा देखिने बताएका छन्।
दक्षिणपन्थी यथास्थितिवादी विकल्प जसले खालि रुप पक्षलाई मात्रै जोड दिन्छ, विचार, राजनीति र कार्यक्रमिक पक्षलाई, संरचनात्मक परिवर्तनका पक्षलाई ध्यान दिँदैन त्यसबाट चाहिँ सतर्क हुनुपर्ने हामीलाई अनुभुति भयो', उनले भने।
भट्टराईले रुसका सांसदहरुसँग साम्यवादी व्यवस्थाले काम नगरेको र नयाँ खोज अगाडि बढेको विषयमा छलफल भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।