भैरहवा- प्रदेश नम्बर ५ सरकारले बुटवलका ५ सामाजिक संस्थालाई कार्यालय व्यवस्थापनका लागि ५४ लाख रुपैयाँ दिने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार व्यवस्थापन अन्तर्गत बुटवल उद्योग वाणिज्य संघलाई ४० लाख, बुटवल टेक्निकल इन्स्टिच्युटलाई १० लाख, बाल विद्या मन्दिरलाई २ लाख र बुटवल महिला जेसिज र मगर महिला संघलाई एकएक लाख रुपैयाँ पुर्वाधार व्यवस्थापनका लागि अनुदान दिने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए।
पूर्वाधार अभावले प्रदेश सरकार विभिन्न संघसंस्थाका भवन प्रयोग गर्न बाध्य छ। प्रदेश सरकार र सभाका लागि भौतिक पूर्वाधार व्यवस्थापन अन्तर्गत ती संस्थालाई उक्त रकम दिन लागिएको हो।
सरकारले अनुदान दिने भनेका संस्थामध्ये बुटवल उद्योग वाणिज्य संघको हलमा प्रदेश सभा र प्रदेश सभा सचिवालय छ भने बुटवल टेक्निकल इन्स्टिच्युटका भवनहरुमा कर्मचारी आवास बनाउने तयारी गरिएको छ। यस्तै महिला जेसिजको कार्यालय प्रदेशसभाको पुस्तकालय र दलका कार्यालयका लागि प्रयोग हुने भएको छ। बुटवल उद्योग वाणिज्य संघले आफ्नो भवन प्रदेश सभालाई दिने भएपछि बाल मन्दिरमा संघको कार्यालय रहने भएको छ।
महिला जेसिजको कार्यालय मगर महिला संघको भवनमा व्यवस्थापन गर्नेगरी दुवैलाई एकएक लाख अनुदान दिएको प्रवक्ता चौधरीले बताए। ‘बुटवल उद्योग वाणिज्य संघको पूरै भवन हामीले लिने भएपछि उहाँहरुलाई कार्यालय व्यवस्थापनका लागि संरचना निर्माण गर्न ४० लाख दिएको हौं, त्यस्तै अरु ४ वटा संस्थाका कार्यालय पनि हामीले लिएका कारण उहाँहरुलाई कार्यालय व्यवस्थापनको काम गर्न रकम दिइएको हो,' उनले भने। चौधरीका अनुसार सरकारले सहयोग लिएका संस्थाहरुका संरचना व्यवस्थापन गर्ने दायित्व सरकारको भएकाले त्यसैअनुसार आवश्यक न्युनतम खर्च दिइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।