काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत निर्वाचित उम्मेदवारहरुको सूची राष्ट्रपति कार्यालयमा बुझाएको छ। आयोगले बुझाएको अन्तिम मतपरिणामको सूचीअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारमा दलका नेताहरुले आफन्तलाई प्राथमिकता दिएको देखिएको छ।
समानुपातिकमा नेताका आफन्तहरु समावेश गर्नेमा माओवादी केन्द्र अघि देखिएको छ। प्रतिनिधि सभातर्फ जम्मा १४ सांसद पाएको माओवादीबाट ५ सांसद नेताहरुकै आफन्त रहेका छन्। अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बहिनी नारायणी शर्मालाई समानुपातिक सांसद् बनाउन सफल भएका छन्। उनी आफैं भने रुकुम पूर्वबाट प्रत्यक्ष निर्वाचित भएका छन्।
माओवादी केन्द्रका उपमहासचिव तथा सांसद् शक्ति बस्नेतले आफ्नी बहिनी ज्ञानु बस्नेत सुवेदीलाई सांसद् बनाएका छन्। उनी आफैंले जाजरकोटबाट प्रत्यक्ष जितेका हुन्।
माओवादी केन्द्रका नेता शिवपुजन राय रातो पासपोर्ट दुरुपयोग मुद्दामा दोषी देखिएपछि उम्मेदवार बन्न पाउँदैनन्। तर उनले समानुपातिकमा श्रीमती मीना यादवलाई उम्मेदवार बनाए। यसैगरी स्वतन्त्रबाट छोरी समेत उठाए। छोरीलाई जिताउन असफल भएका रायकी श्रीमती यादव भने सांसद बनेकी छिन्।
प्रत्यक्षमा समानुपातिक शून्य भएको सुदूरपश्चिमबाट समानुपातिकमा माओवादी केन्द्रले रुपशोसा चौधरीलाई सांसद बनाएको छ। चौधरीको तेस्रोपटकको संसद् यात्रा हो। माओवादी केन्द्रकै नेता नेपबहादुर चौधरीकी श्रीमती हुन् उनी। नेपबहादुरलाई मुख्यमन्त्री बनाउने वाचासहित २०७४ सालमा प्रदेश सभा सदस्य बनाइएकको थियो, तर तत्कालीन माओवादी नेता लेखराज भट्टले त्रिलोचन भट्टलाई अघि सारेर उनलाई रोकिदिए। परिवारबाटै आलोपालो अवसर लिने क्रममा यसपल्ट रुपशोसाले सांसद पद पाएकी छिन्।
माओवादीको प्रभाव क्षेत्र मानिन्छ कर्णाली प्रदेश। उक्त प्रदेशमा पार्टीले समानुपातिकमा पाएको ४ सिटमै नेताका श्रीमतीलाई अवसर दिइएको छ।
केन्द्रीय सदस्य रामलाल विककी श्रीमती उर्मिला विक, कालीकोट संयोजक लक्ष्मी चौलागाइँकी श्रीमती यशोदा न्यौपाने, रुकुम पश्चिमका संयोजक गोविन्द्र रोका(सचिन)की श्रीमती मिलन खड्का रोका र हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका पार्टी अध्यक्ष तथा पालिकाका उपाध्यक्ष चन्द्रबहादुर कार्कीकी श्रीमती जुम्कित लामा कार्की प्रदेश सांसद चुनिएकी छन्।
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल यसपल्ट उम्मेदवार बनेनन्। पटक-पटक मन्त्री समेत भइसकेका थापाले श्रीमती नैनकलालाई सांसद् बनाएका छन्। नैनकलालाई नेकपा विभाजनपछि ओली सरकारमा छोटो समयका लागि मन्त्री समेत बनाइएकको थियो।
नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधि सभाको निर्वाचनमा आफू पराजित भए। तर बहिनी मेनका कुमारी पोखरेलाई समानुपातिकतर्फ खसआर्यबाट पहिलो नम्बरमै राखेका थिए। उनी प्रतिनिधि सभा सदस्य बनेकी छन्।
नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगै उनकी श्रीमती आरजु राणा देउवा पनि संसद्मा हुनेछिन्। काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणका दम्पत्ति नै माननीय बन्ने चाहनामा भने रुपन्देही- ३ का मतदाताले ब्रेक लगाइदिएका छन्। खाण आफू हारे पनि श्रीमती मञ्जु खाणलाई संघीय संसद्मा पठाउन सफल भएका छन्।
जनता समाजवादी पार्टीका उपाध्यक्ष अशोक राई श्रीमतीसहित संसद्मा हुनेछन्। उनकी श्रीमती शुशीला शुशीला श्रेष्ठ जनता समाजवादी पार्टीकै समानुपातिकबाट सांसद् बनेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।