काठमाडौं– राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटाले सूचनाको प्रवाह मुलुकलाई समृद्ध बनाउन सबैभन्दा ठूलो शक्ति भएको दावी गरेका छन्।
प्रमुख सूचना आयुक्त बाँस्कोटाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन पनि सूचना प्रवाहले महत्वपूर्ण योगदान पु¥याउने स्मरण गराए। बुधबार काठमाडौंमा आयोजित प्रदेश ३ का स्थानीय तहका जनप्रतिनिधिहरुको सूचनाको हकसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सूचनाको माध्यमबाटै मुलुकको विकास र समृद्धिको परिकल्पनालाई साकार पार्न सकिने पनि स्पष्ट पारे।
प्रमुख सूचना आयुक्त बाँस्कोटाले सूचना प्रवाहको माध्यमबाट स्थानीय तहलाई समृद्ध बनाउन पनि सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराए।
कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका सूचना आयुक्तद्धय किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिनाले सूचना प्रवाहको आवश्यकताबारे चर्चा गरेका थिए।
अन्तरक्रिया कार्यक्रममा प्रदेश ३ का स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी भएका थिए। कार्यक्रममा आयोगले प्रदेश ३ का सूचनाहरुको संक्षिप्त विवरण समेत सार्वजनिक गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।