काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको पहिलो बैठक मंगलबार बसेको छ।
समितिकी जेष्ठ सदस्य तारादेवी भट्टको अध्यक्षतामा सिंहदरबारमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको पहिलो बैठक बसेको हो। बैठकमा समितिकी जेष्ठ सदस्य भट्टले समितिको कार्यसूची, कार्यविधि र कार्ययोजना तय गर्न आवश्यक तयारी गर्न समितिका सदस्यहरुलाई निर्देशन दिइन्। उनले विषयवस्तुको गहन अध्ययन गरेर प्रस्तुत हुन पनि समितिका सदस्यहरुको गम्भीर ध्यानाकर्षण गराइन्।
बैठकमा समितिका सदस्यहरुले समितिको कार्यविधि बनाउन ढिलाई गर्न नहुनेमा जोड दिएका थिए। समितिका सदस्य सुरेन्द्रराज पाण्डेले राष्ट्रियसभालाई प्रभावकारी बनाउने गरी समितिले आफ्नो कामलाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
समितिका अर्का सदस्य प्रकाश पन्थले प्रतिनिधिसभाको क्षेत्राधिकारमा हस्तक्षेप नहुने गरी समितिले आफ्नो कामलाई अघि बढाउनुपर्ने धारणा राखे। उनले राष्ट्रियसभाको गरिमा कायम हुने गरी समितिलाई सक्रीय बनाउन लाग्नुपर्ने पनि स्मरण गराए।
समितिको कार्य क्षेत्र भित्र तहगत राज्य संरचनाको विकासमा समन्वय, राष्ट्रिय सम्पदा, मानव अधिकार तथा परराष्ट्र सम्बन्ध, सन्धि÷सम्झौताको कार्यान्वयनको अवस्था, समन्यायिक विकासको अवस्था, पिछडिएका क्षेत्र, समूदाय, संस्कृति, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय सुरक्षा र संवैधानिक आयोग सम्बन्धि विषयहरु रहेका छन्।
१४ सदस्यीय समितिको सभापतिको निर्वाचन राष्ट्रियसभाका अध्यक्षले तोकेको मितिमा हुने व्यवस्था गरिएको छ। सभापति चयन नभएसम्मका लागि समितिको बैठकको अध्यक्षता जेष्ठ सदस्य भट्टले गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।