पर्सा– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र एक भइसक्ने बताएका छन्।
मंगलबार वीरगंजमा नेपाल उद्याेग वाणिज्य महासंघ, जिल्ला तथा नगरस्तरीय उद्याेग वाणिज्य संघहरूकाे राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचणडले २५ गतेसम्म तलबाट सुझाब मागेको र सोही सुझाबका आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने बताएका हुन्।
अध्यक्षले रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ती गर्ने बारेमा प्रधानमन्त्रीसँग हिजोमात्र छलफल भएको स्पष्ट पारे। 'संविधानले व्यवस्था गरे अनुसार अरु संवैधानिक आयोगहरु पनि निर्माण गर्ने बारेमा छलफल भएको छ। प्रधानमन्त्रीले त्यसलाई चाँडै नै पूर्णता दिनुहुन्छ', उनले भने।
प्रचण्डले न्यायालयको नेतृत्व खालि नहुने बताउँदै संसदीय समितिमा पर्ने उजुरी र उसले गर्ने सुनुवाइ नै मुख्य कुरा भएको बताए।
‘हामीले संसदीय सुनुवाइ समितिको व्यवस्था राखेको संसदको सर्वोच्चतालाई स्थापित गर्ने उद्देश्यले हो। त्यसकारण त्यहाँ पर्ने उजुरी र त्यसमा सांसदहरुले गर्ने छानबिनमा भर पर्छ', प्रचण्डले भने', 'संवैधानिक परिषदबाट सिफरिस भएपछि संसदले त्यसलाई अनुमोदन गर्नैपर्थ्यो भन्ने एउटा बहस छ भने अर्को संसदको सर्वोच्चता स्थापित गर्नका लागि सुनुवाइ समितिमा परेका उजुरीमाथि स्वतन्त्रतापूर्वक सांसदले छानबिन गर्न पाउनुपर्छ भन्ने बहस छ। हामीले संसदको सर्वोच्चतालाई महत्व दियौं र स्थापित गर्यौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।