काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको अतिजा आउने क्रम जारी रहेको छ। हाल सम्मको नजितामा नेपाली कांग्रेस पहिलो दल भएको छ। नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो देखिएको छ।
हालसम्म पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीअन्तर्गत नेपाली कांग्रेसले ५५ स्थानमा जित हात पारेको छ भने २ स्थानमा अग्रता कायम गरेको छ। त्यस्तै नेकपा एमालेले ४४ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १७ स्थानमा जित हात पारेको छ भने १ स्थानमा अग्रता कायम गरिरहेको छ।
त्यस्तै, यसपटक थपिएको एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७ सिट जितेका छन्। सिके राउतको नेतृत्वको राष्ट्रिय जनमत पार्टी र रेशम चौधरीको अगुवाइमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले पनि यसपटक प्रत्यक्षमा सिट जितेका छन्।
समानुपातिक तर्फ पनि अन्तिम मतगणना चलिहरेको छ। हालसम्म १ करोड ३ लाख ८२ हजार मत गणना भएको छ। हालसम्म नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी र जनमत पार्टीले थ्रेस होल्ड कटाएका छन्। एकीकृत समाजवादी ३ प्रतिशत थ्रेसहोल्ड कटाउन संघर्षरत रहेको छ।
यसरी हेर्दा हालसम्म सात पार्टी राष्ट्रिय दल हुने संकेत देखिएको छ। २०७४ सालमा ५ वटा मात्र राष्ट्रिय पार्टी भएका थिए। यस पटक २ वटा दल थपिने भएका छन्।
कार्यालय खोज्द सचिवालयका कर्मचारीको दौडधुप
निर्वाचनको मतपरिणाम अन्तिमतिर पुग्दै गर्दा संघीय संसद् सचिवालयका कर्मचारी भने दलका लागि कार्यालय खोज्ने तनावमा छन्।
संघीय संसदको निर्माणााधीन भवन सम्पन्न हुन अझै केही वर्ष लाग्ने भएको र हाल संसद सचिवालय रहेको स्थानमा दलहरुका लागि कार्यालय नपुग्ने देखिएपछि सचिवालयका कर्मचारीलाई तनाव थपिएको हो।
यसअघि नै राष्ट्रिय पार्टी भएका र हालपनि थ्रेसहोल्ड कटाएकाहरुलाई पुरानै कार्यालय व्यवस्थापन गरिने छ। तर, नयाँ राष्ट्रिय दलका लागि नयाँ कार्यालय आवश्यक हुने भएपछि कार्यालय खोजीलाई तीव्रता दिइएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।
‘हाल भवन भएको स्थानमा ठाउँ नपुग्ने भएकाले कहाँ राख्ने तनाव भएको छ,’ उनले भने, ‘नयाँ कार्यालयका लागि हेलो सरकार बसेको स्थान र पुनर्निर्माण प्राधिकरण बसेको प्रि फाइभको भवन पनि माग गरेका छौं।’
निर्वाचन आयोगले मंसिर १९ गतेसम्म अन्तिम नजिता राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेकाले पुषदेखि कार्यालय शुरु गर्नेगरी सचिवालयले तयारी गरिरहेको छ। नवनिर्वाचित सांसदहरुको शपथ अघि नै कार्यालय व्यवस्थापन गर्नुपर्ने चुनौती सचिवालयलाई रहेको छ।
सचिवालयले संसदका दुवै सदनको बैठकका लागि भने नयाँ बानेश्वरमा तयारी पुरा गरेको छ। यसअघि संसद् बैठक बस्दै आएको नयाँ वानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै यस पटक पनि संसद बैठक बस्ने पाण्डेले बताए।
सिंहदबारमा निर्माणाधीन संसद् सचिवालयको भवन सम्पन हुन अझै केही वर्ष लाग्ने भएकाले पुरानै स्थानमा संसद् वैठकलाई निरन्तरता दिइने पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।