काठमाडौं- मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम लगभग आइसकेको छ। मतदानकै क्रममा विवाद भएपछि मतगणना रोकिएका स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरा जिल्लामा पनि मतगणना सुरु भइसकेको छ, र अबको १/२ दिनभित्र नतिजा आइसक्ने जनाइएको छ।
निर्वाचनको अन्तिम नतिजा आउँदै गर्दा दलहरु नयाँ सरकार गठनको दौडधुपमा छन्। सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु भावी सरकारको समीकरण बनाउन लागिपरेका छन्।
सरकार गठनका लागि संसदीय गणित मिलाउने दौडधुप चलिरहँदा टीकापुर हत्याकाण्डको मुद्दामा जेलमा रहेका ‘थारु नेता’ रेशम चौधरी दलहरुको केन्द्र भागमा परेका छन्। रेशमकै अगुवाइमा गठन भएको नागरिक उन्मुक्ति पार्टीले यस पटक प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ३ सिट जितेको छ। सत्ता गठबन्धनका दलहरुले सरकार गठनको तयारी गरिरहँदा सुविधाजनक बहुमत पुर्याउनका लागि नागरिक उन्मुक्तिको पनि साथ समर्थन खोजिरहेका छन्।
मतगणना चलिरहेकै अवस्थामा गठबन्धन दलका केही शीर्ष र दोस्रो तहका नेताहरुले रेशमलाई जेलमै गएर भेटवार्ता गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले चौधरीलाई जेलमै गएर भेटेका छन्।
काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका चौधरीलाई भेटेर नेताहरु संघ र प्रदेशमा सरकार बनाउन आग्रह गरेका छन्। तर पार्टीले आफूहरुको मुद्दा सम्बोधन नहुन्जेल कसैलाई पनि कुनै प्रकारको सहयोग वा सहयात्रा नगर्ने जनाएको छ।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय राजनीति संवाद संयोजक सुरेन्द्र चोधरीले नेपाल लाइभसँग कुरा गर्दै रेशम चौधरीसहित टीकापुर घटनाको मुद्दामा जेलमा रहेका सात जनाको रिहाइ र २७ जनामाथि लगाइएको मुद्दा खारेज नभएसम्म पार्टी कसैलाई सहयोग नगर्ने वा कसैसँग नजाने प्रष्ट पारे। चौधरीले गठबन्धनका नेताहरुले सहयोगको प्रस्ताव ल्याए पनि आफ्नो वटमलाइन सुनाइदिएको बताए।
२०७२ को भदौमा कैलालीको टीकापुरमा भएको हिंसामा सात जना प्रहरी अधिकारी मारिएको घटनामा नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी कारागारमा छन्। उनीसँगै थप सात जना जेलमा छन् र २७ जनाले अझै मुद्दा खेपिरहेका छन्।
उक्त घटना लगत्तै भूमिगत भएका चौधरी २०७४ को निर्वाचनमा वारेसमार्फत तत्कालीन राजपाबाट उम्मेदवार बनेका थिए। सो निर्वाचनमा उनले जित हासिल गरेका थिए। तर प्रहरीले प्रकाउ गरेपछि उनी संसदमा प्रवेश गर्न पाएनन्। पछि तत्कालीन नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले २०७५ पुस १९ गते सांसदको सपथ खुवाउने व्यवस्था मिलाएको थियो। तर सिंहदरबारमा आएर सपथ लिए पनि चौधरीलाई पुन: कारागार नै पठाइएको थियो।
त्यसपछि चौधरीले आफ्नै नेतृत्वमा पार्टी गठनको प्रकिया अगाडि बढाए पनि निर्वाचन आयोगले स्वीकृति नदिएपछि उनले आफ्नी श्रीमती रन्चिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए।
यही ४ मंसिरको निर्वाचनमा श्रेष्ठसहित ३ जना यो पार्टीबाट प्रतिनिधि सभातर्फ निर्वाचित भएका छन् भने चौधरीका बुबा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन्।
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमसहित लुम्बिनी प्रदेशमा समेत केही स्थान जितेकाले सत्ता-गठबन्धनले यो पार्टीलाई केन्द्रदेखि प्रदेशसम्म सहभागी गराए सरकार बनाउन सजिलो हुने आकलन गरेको छ। त्यसको फलस्वरुप गठबन्धनका शीर्ष नेताहरुले चोधरीलाई कारागारमा भेटेर सहकार्यको प्रस्ताव गरेका हुन्।
तर, उनको पार्टी गठनदेखि निर्णय प्रकियामा प्रभाव राख्ने नेता सुरेन्द्र चौधरीले गठबन्धन वा कुनै दलले आफूहरुलाई सत्ताको प्रलोभनमा पार्न नसक्ने दावी गरे। ‘हामी आफ्ना मुद्दाहरुको सन्दर्भमा प्रष्ट छौं,’ चौधरीले भने, ‘हाम्रा लागि देउवा, दाहाल, नेपाल हुन् वा ओली सबै एउटै हुन्। हाम्रो बटमलाइन अनुसार जसले हाम्रा माग पूरा गर्छ, त्यसैलाई सघाउँछौं।’ माग पूरा नभएसम्म कसैको पछि नलाग्ने चौधरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।