काठमाडौं– पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै मन्त्री भएपछि चल, अचल सम्पत्ति नथपिएको स्पष्ट पारे। १ सय ३० दिन कानुन मन्त्री भएर राजीनामा दिएका मन्त्री तामाङले हाल आफ्नो खातामा नगद ४३ हजार ९ सय ६७ रुपैयाँ रहेको र बाँकी मन्त्रीको रुपमा लिइएको तलब भत्ताले ऋण तिरिएको दावी गरे।
त्यसैगरी पूर्व कानुनमन्त्री तामाङले श्रीमती उषाकला राईको नाममा एउटा बैंकमा १ लाख ६६ हजार र अर्को बैंकमा १ लाख २२ हजार रुपैयाँ रहेको जानकारी पनि दिए। सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा निर्वाचित सांसद तामाङले आफूसँग सिन्धुपाल्चोकको सिन्धुकोट र मेलम्चीमा जग्गा रहेको र श्रीमती राईको मोरङका विभिन्न स्थानमा र खोटाङमा पनि जग्गा रहेको बताए।
तामाङसँग मोटरसाइकल र श्रीमती राईसँग कार रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ। पूर्व मन्त्री तामाङ र प्रदेश १ की सांसद श्रीमती राईसँग ३० तोल सुन रहेको पनि जानकारी दिइएको छ। पूर्व मन्त्री तामाङले पत्रकार सम्मेलनमा आफूले भ्रष्टाचार नियन्त्रणलाई एक मात्रै लक्ष्य बनाएको दावी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।