टोकियो– जापानको एक प्राथमिक विद्यालय परिसरबाट दोस्रो विश्वयुद्धको समयका भएको विश्वास गरिएका करिब ३ हजार थान हतियार फेला परेको विद्यालयका अधिकारीले सोमबार बताएका छन्।
टोकियो महानगरको निसिटोकियो क्षेत्रमा रहेको तानासी प्राथमिक विद्यालयको भवन निर्माणका लागि जमिन खन्ने क्रममा भेटिएका १ हजार ४ सय बन्दूक, १ हजार २ सय खड्ग (युद्धमा प्रयोग गरिने धारिला हतियार), ८ थान हाते बम र ३ सय २ थान गोली भेटिएको उक्त महानगरका अधिकारी मासाकी फुजिसावाले बताए।
‘विद्यालय परिसरमा हतियार फेला परेको खबरले सुरुमा हामी आश्चर्यमा पर्यौं।,’ उनले थपे, ‘सबै हतियार खिया लागेको अवस्थामा फेला परेपछि तिनीहरू लामो समय पहिले अर्थात् दोस्रो विश्वयुद्धको समय जमिनमुनि गाडिएको विश्वासमा सम्बन्धित अधिकारीलाई अनुसन्धानका लागि जिम्मा लगाएका छौँ।’
भेटिएका कुनैपनि हतियार प्रयोगमा आउनसक्ने अवस्थामा नरहेकासमेत उनको भनाइ थियो।
हतियार जापानले दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गरेपछि सन् १९४५ मा जमिनमुनि गाडिएको हुनसक्ने स्थानीय सञ्चारमाध्यमले हतियार विज्ञहरूलाई उद्धृत गरी जनाएका छन्।
जापानले हतियार त्यागेर शान्तिको यात्रा सुरु गरेको ७० वर्षपछि पनि कतिपय स्थानहरूमा हतियारका अवशेषहरू पाइने गरेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।