काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालन गरिने कार्यक्रमहरुको कार्यान्वयनको एकीकृत कार्ययोजना सार्वजनिक गरेको छ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सञ्चारमन्त्री गोकुल बाँस्कोटाले एकीकृत कार्ययोजना सार्वजनिक गरेका हुन्। सरकारको नीति तथा कार्यक्रममा उल्लेखित सबै स्थानीय तहमा ब्रोडव्याण्ड सेवा बिस्तार गर्ने कार्यक्रम अन्तर्गत रहेर चालु आर्थिक वर्षमा इन्टरनेट नपुगेका थप १५० स्थानीय तहमा ब्रोडव्याण्ड इन्टरनेट पुर्याउने जनाइएको छ।
आगामी पाँच वर्षको रणनीति बनाएको मन्त्रालयले आर्थिक वर्ष २०७९/८० सम्म ९० प्रतिशत जनतामा ब्रोडव्याण्ड सेवा र शत प्रतिशत जनतामा इन्टरनेट पुर्याउने लक्ष्य लिएको छ। सरकारी कार्यालयहरुमा इ–पेमेन्टका लागि वित्तिय संस्थाहरुलाई आवद्धता गरी आगामी पाँच वर्षमा वित्तीय कारोबार विद्युती माध्यमबाट गरिने जनाइएको छ। त्यस्तै, सबै सरकारी सेवालाई विद्युतीय माध्यमबाट प्रवाह गरिने भएको छ।
सरकारी कार्यालयहरुले आफ्नै एप्स प्रयोगमा ल्याइएको जनाइएको छ। जनतालाई एकीकृत रुपमा सेवा प्रदान गर्न पाँच वर्ष भित्रमा एकीकृत मोबाइल एप्स प्रयोगमा ल्याइने भएको छ। पाँच वर्षभित्र मुुलुकका ३५ सामुदायिक विद्यालयहरुलाई शिक्षण कार्यलाई प्रभावकारी बनाउनका लागि स्मार्ट स्कुलका रुपमा रुपान्तरण गरिने लक्ष्य राखिएको छ। सामुदायिक विद्यालयहरुमा कम्प्युटर ल्यावको स्थापना गर्ने लक्ष्य राखिएको छ।
रेडियो र टेलिभिजनको पहुँच ८० प्रतिशतभन्दा बढी पुगेको जनाउँदै मन्त्रालयले आगामी पाँच वर्षमा शत प्रतिशत नागरिकको पहुँचमा सञ्चार माध्यममा पुग्ने जनाएको छ। रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकै व्यवस्थापन अन्तर्गत सञ्चालन गर्ने नीति अनुरुप सार्वजनिक प्रशारण संस्था गठन हुने बताइएको छ।
प्रति प्रयोगकर्ता रु एक हजार प्रतिमहिना रहेको ब्रोडव्याण्ड इन्टरनेटलाई आउने पाँच वर्षमा प्रतिव्यक्ति आयको ५ प्रतिशत भित्र ल्याइने भएको छ। ६५ हजार जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको दुरसञ्चार क्षेत्रमा आगामी पाँच वर्षमा एक लाख ५० जनाले रोजगारी प्राप्त हुने जनाइएको छ।
तीन वर्ष भित्रमा सातै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने जनाइएको छ। सरकारी न्युज एजेन्सी (रासस)लाई बिस्तार गर्ने क्रममा दिल्ली, बेजिङ,न्युयोर्क र ब्रसेल्समा कार्यालय स्थापना गर्ने लक्ष्य राखिएको छ।
मन्त्री बाँस्कोटाले यसअघि कार्ययोजना मात्रै हुने गरेको बताउँदै भने, ‘अब कार्य सम्पादनमा ध्यान दिइन्छ।’
तोकिएको समयमा कार्यसम्पादन गर्न नसक्ने प्रमुखले आफ्नो कामको जिम्मेवारी लिएर दण्डित हुनुपर्ने चेतावनी मन्त्री बाँस्कोटाले दिए। मन्त्रालय मातहतका निकायका प्रमुखहरुलाई बाँस्कोटाले कार्यालयका कामहरु प्रभावकारी बनाउन निर्देशन गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।