काठमाडौं– गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कायरा’को सुरुवाती व्यापार राम्रो देखिएको छ। फिल्मले प्रदर्शनको पहिलो र दोस्रो दिनमा ९५ लाखमाथिको व्यापार गरेको वितरक सुनिल मानन्धरले नेपाल लाइभलाई जानकारी दिए। उनले भने, ‘उपत्यकाभित्र ५८ लाख र उपत्यका बाहिर ३७ लाख गरेर दुई दिनमा फिल्मले ९५ लाखमाथिको व्यापार गरेको छ। र आइतबार पनि फिल्मको कलेक्सन सन्तोषजनक नै छ।’
लभ स्टोरी जनरामा निमार्ण भएको फिल्म कायरामा अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्रज्ञी राज्यलक्ष्मी साह मुख्य भूमिकामा छन्। नेपाल र फिलिपिन्सका विभिन्न स्थानमा छायांकन गरिएको कायराले फिल्म समीक्षकहरुबाट भने सन्तोषजनक प्रतिक्रिया पाइरहेको छैन।
दर्शकले पनि अभिनेता र अभिनेत्रीले मात्र फिल्म धानेकाले केही पट्यारलाग्दो भएको टिप्पणी गरेका छन्। तर, २ दिनको ग्रस कलेक्सन र आइतबार हलमा देखिएको दर्शक चापले फिल्मले राम्रै छाप छोडेको निर्माण पक्षको भनाइ छ।
लक्ष्मण रिजालको निमार्ण तथा निर्देशन रहेको 'कायरा'को कथा अभिनेता आर्यनले लेखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।