काठमाडौं– सरकारी वकिलहरुका लागि संवैधानिक कानुनमा विशिष्टिकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ।
संवैधानिक कानुनको विषयवस्तुमा विशिष्ट सेवा उपलब्ध गराउने उद्देश्यका साथ सरकारले आइतबारबाट सरकारी वकीलहरुका लागि विशिष्टिकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु गरेको हो। ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सरकारी वकीलहरुलाई विषयवस्तुमा विशिष्टिकृत गराउन प्रशिक्षण कार्यक्रमको सुरुवात गरिएको स्पष्ट पारे।
नेपालमा पहिलो पटक आयोजना गरिएको सो प्रशिक्षणमा शाखा अधिकृतदेखि सहसचिवस्तरका २० जना सरकारी वकीलहरु सहभागी रहेका छन्।
सरकारले यस वर्ष सार्वजनिक सम्पत्ति र फौजदारी अभियोगजस्ता जनताका प्रत्यक्ष सरोकारको विषयमा पनि विशिष्टिकृत सेवा दिन सरकारी वकीलहरुलाई प्रशिक्षण दिने योजना बनाएको छ। ३ वर्षभित्र २ सय ९१ जना वकीलहरुलाई विशिष्टकरण सम्बन्धि प्रशिक्षण दिने योजना तय गरिएको महान्यायाधिवक्ता खरेलले जानकारी दिए।
आगामी भाद्र ५ गतेसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा संवैधानिक कानुनका विज्ञहरुले प्रशिक्षण दिने व्यवस्था मिलाइएको पनि महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। न्याय सेवालाई विशिष्टिकृत गर्न नेपालमा पहिलो पटक सरकारी वकीलहरुको प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।