चितवन– कृषि तथा वनविज्ञान विश्वविद्यालयले ‘अपारदर्शी’ ढंगले दिएको सम्बन्धन खारेज गरे पनि विश्वविद्यालय सञ्चालनका लागि प्रशासनले पहल नगरेको भन्दै प्राध्यापकहरुले विरोध जनाएका छन्।
आन्दोलनरत प्राध्यापकका तर्फबाट नेपाल प्रगतिशिल प्राध्यापक संगठनका कार्यवाहक अध्यक्ष उदितप्रकाश सिग्देल, नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष रामाशिप शाह र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सचिव डा शंकर बर्सिलाले एक संयुक्तरुपमा विज्ञप्ति प्रकाशित गरी विश्वविद्यालय प्रशासनको कार्यप्रति खेद व्यक्त गरेका छन्।
मन्त्रिपरिषद् बैठकबाट निर्णय भएको हप्ता दिन बितिसक्दा पनि विश्वविद्यालय प्रशासनले गैरजिम्मेवारीपन देखाएको भन्दै विश्वविद्यालयभित्रको प्रशासन तथा कक्षा यथाशिघ्र सुचारु गर्न माग गरिएको छ।
प्राध्यापक संगठनहरुले कृषि शिक्षा निति, विश्वविद्यालयको सुधार, कृषि परिषद्को मुद्धा लगायतका मागहरु भने जारी रहने बताएका छन्। विज्ञप्तिमा आन्दोलनको स्वरुप परिवर्तन गरि धर्ना स्थगन गरिएको जनाइएको छ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय कार्यकारी परिषद्ले निजी आठ कलेजहरुलाई दिएको सम्बन्धन तत्कालका लागि स्थगित गरेको थियो। विश्वविद्यालयले दिएको सम्बन्धन खारेजको माग गर्दै विद्यार्थी र प्राध्यापकहरु आन्दोलनमा उत्रिएका थिए।
विज्ञप्ति:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।