सोलु- गोक्यो हिमतालमा शनिबार बिहान डुबेर मृत्यु भएका तीन विद्यार्थीको शव अझै निकाल्न सकिएको छैन। प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण विद्यार्थीको शव निकाल्न नसकिएको प्रहरीको भनाइ छ।
'हिमतालमा डुबेका बालक बेलाबेलामा पानीमाथि देख्न सकिन्छ,' जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक नवीन राईले भने, 'कुनै पनि उद्धारको सामग्री नहुँदा शव निकाल्न समस्या भएको हो।'
'खुम्जुङ प्रहरी चौकीबाट करिब दुई दिन पैदल हिँडेर पुगिने सो स्थानमा शनिबार हेलिकोप्टरमार्फत केही स्थानीय सहितको प्रहरी टोली त गयो तर थप टोली पठाउन हेलिकोप्टर भए पनि प्रतिकुल मौसमका कारण अवतरण हुन सकेन,' राईले भने, 'आज थप टोली गएको छ, शव बाहिर ल्याउन सकिन्छ कि भन्ने आशा छ।'
डुबेका विद्यार्थीको उद्धारका लागि आज बिहान सेनाको टोली पनि गोक्यो प्रस्थान गरेको प्रहरी निरीक्षक राईले जनाए।
प्रहरीले उद्धार गर्न नसकेपछि शम्शेर गुल्म नाम्चेबाट नेपाली सेनाको टोली गोक्योतर्फ प्रस्थान गरेको हो। गोक्यो भ्रमणमा गएका खुम्जुङ माविका कक्षा ९ मा अध्ययनरत पेम्बा दोर्जे शेर्पा, पेम्बा नुरु शेर्पा र सुनिल बराइली शनिबार बिहान हिमतालमा डुबेका थिए।
खुम्बु क्षेत्रमा शेर्पा समुदायको फाङ्गी पर्वका अवसरमा विद्यालय बन्द भएका बेला विद्यालयको अनुमतिबिनै ती विद्यार्थी शैक्षिक भ्रमणमा गएका थिए। खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले विद्यालय परिवारलाई उद्धृत गर्दै भने, 'विद्यार्थीले भ्रमणका लागि औपचारिक अनुरोध गर्दा विद्यालयले अस्वीकार गरेको तर पछि विद्यार्थी आफैं भ्रमणमा गएछन्।' रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।