काठमाडौं– नेपाली कांग्रेसका स्याङ्जा जिल्ला सभापति तथा पूर्वसांसद कमल पंगेनीको निधन भएको छ। उच्च रक्तचापका बिरामी रहेका पंगेनीको हृदयघातका कारण आज बिहान करिब ६ बजेतिर निधन भएको नेपाल पत्रकार महासंघ, स्याङ्जाका पूर्व सभापति ओमप्रकाश शर्माले बताए।
नेता पंगेनीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। ट्विट गर्दै सभापति देउवाले नेता पंगेनीको निधनले कांग्रेसलाई ठूलो क्षति पुगेको बताउँदै आत्माको चिरशान्तिको कामनासमेत गरेका छन्।
भिरकोट नगरपालिका–६ का स्थायी बासिन्दा ५५ वर्षीय पंगेनी यसअघि २०७० को संविधान सभाको चुनावमा विजयी भएका थिए। ३ पटकसम्म जिल्ला पार्टी सभापति रहिसकेका उनी २०६४ मा संविधान सभाको पहिलो निर्वाचन तथा हाल प्रदेशसभातर्फ स्याङ्जा क्षेत्र नम्बर १ ‘क’ बाट पराजित भएका थिए।
नेता पंगेनीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि पार्टी सभापति देउवालगायतका नेताहरु अाजै स्याङ्जा आउने नेपाल पत्रकार महासंघ, स्याङ्जाका पूर्व सभापति शर्माले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।