काठमाडौं– अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीले आफ्नो अपराजित यात्रा ३६ खेलसम्म पुर्याएको छ ।
बुधबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा युएईलाई ५–० को फराकिलो अन्तरले हराउँदै सहज जित निकाल्दै दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले अपराजित यात्रा लम्ब्याउँदै गएको छ। विश्वकपको तयारीस्वरूप अबुधबीमा भएको खेलमा घरेलु टोली युएईमाथि जित निकाल्दा एंगेल डी मारियाले दुई तथा कप्तान लियोनल मेसी, जोक्विन कोरेया, जुलियन अल्भारेजले एक–एक गोल गरे।
अर्जेन्टिनाले यसअघि सन् १९९१ देखि ९३ सम्ममा बनेको आफ्नै ३१ खेलको अपराजित यात्रा गत जेठमा इटालीलाई ३–० ले हराउँदै तोडेको थियो। त्यसयता पनि पाँच खेल जित्दै अर्जेन्टिनाले ३६ खेलसम्म अपराजित रहने टोली बनेको छ।
ग्राबियल बाटिस्टुटाको प्रेरणामा रहेको अर्जेन्टिनाले १९९१–९३ बीचमा कोपा अमेरिकाका दुईवटा उपाधि जितेको थियो।
अहिले मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ खेल अपराजित यात्रा गर्ने क्रममा ०२१ मा ब्राजिललाई उसकै मैदानमा हराउँदै कोपा अमेरिकाको उपाधि जित्नुका साथै विश्वकपमा पनि सजिलै छनोट भइसकेको छ। साथै, इटालीलाई हराउँदै युरोप–दक्षिण अमेरिका कप पनि जितेको छ।
मेसीप्रेरित अर्जेन्टिना ०१९ मा भएको कोपा अमेरिकाको सेमिफाइनलमा आयोजक ब्राजिलसँग २–० ले हारेयता अपराजित छ। सो खेल ०१९ को जुलाई २ मा भएको थियो। त्यसयता अर्जेन्टिना झण्डै साढे तीन वर्ष अपराजित छ।
अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल अपराजित रहने टोली इटाली हो। इटाली ३७ खेलसम्म अपराजित छ। अब अर्जेन्टिनाले एक खेल जिते वा बराबरी गरे यो कीर्तिमान भंग गर्नेछ। आगामी नोभेम्बर २२ मा कतारमा हुने विश्वकपको समूह चरणको पहिलो खेलमा साउदी अरेबियाविरुद्ध अपराति रहे अर्जेन्टिनाले इटालीको कीर्तिमान बराबरी गर्नेछ। साउदी अरेबिया सहज प्रतिद्धन्द्धी भएकाले त्यो त्यति गाह्रो पनि देखिँदैन।
त्यसपछि अर्जेन्टिनाले समूह चरणको दोस्रो खेल नोभेम्बर २२ मा मेक्सिकोविरुद्ध खेल्नेछ। यो खेलमा पनि पराजित नभए अर्जेन्टिनाले इटालीको कीर्तिमान भंग गर्नेछ।
विश्वकपको समूह चरणमा अर्जेन्टिनाले साउदी अरेबिया र मेक्सिकोसँगै पोल्याण्डको पनि सामना गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।