काठमाडौं- राजनीतिक विश्लेषक हरि शर्माले जनप्रतिनिधिको रुपमा गगन थापाप्रति आफूलाई विश्वास रहेको बताएका छन्। थापा काठमाडौं- ४ का उम्मेदवार हुन्, शर्मा सोही क्षेत्रका मतदाता हुन्।
‘मेरो क्षेत्रमा उठेका स्वतन्त्र उम्मेदवारहरुप्रति म आश्वस्त छैन। गगनजीले भोलि प्रधानमन्त्री बनाउनुपर्ने बाध्यता भएको मान्छेप्रति पनि मेरो विश्वास छैन’, नेपाल लाइभसँग कुरा गर्दै शर्माले भने, ‘तर मेरो प्रतिनिधिप्रति मलाई विश्वास छ। किनभने लोकतन्त्रमा मैले मेरो प्रतिनिधि रोज्ने हो।’
महामारीका समयमा घरबाट बाहिर निस्किन नपाइँदाको समयमा आफूहरुको बारेमा र मुलुकको बारेमा थापा बोलेको शर्माको बुझाइ छ। ‘अध्यादेशबाट राज्य चलाउने परिपाटी भएको थियो। नागरिक अधिकार कुण्ठित भएका थिए। हिँडेर घर जानुपर्ने परिस्थिति थियो। त्यतिबेला गगनले सबै कुरामा बोलेनन् होला। तर, केही कुरामा बोलेर लोकतन्त्रको ढुकढुकी बचाए। जनताले बोल्न पाउनुपर्छ भन्ने कुरामा भाग्यवश मेरा क्षेत्रका प्रतिनिधि गगन थापाले बोल्नुभयो’, उनले भने।
नागरिकले उम्मेदवार रोज्नुपर्यो भने को बोल्छ मेरा लागि र कसले बोलेको छ मेरा लागि भन्ने नै हेर्ने उनले बताए। ‘अहिले भोट दिनुपर्यो भने आजसम्म गर्यो कि गरेन, भोलि सम्भाव्यता छ कि छैन भनेर हेर्ने हो। आजसम्म गरेको छैन। भोलिको सम्भावना पनि थाहा छैन भने त्यो अँध्यारोमा म किन जान्छु?’, उनले भने, ‘चुनाव भविष्यको सुनिश्चितताको निम्ति हो। भविष्यको कामना मात्रै गर्ने हो भने जसलाई मत हाले पनि भयो।’
उनले आफू काठमाडौं- ४ को मतदाता भएकाले आफू अरुभन्दा ‘भाग्यमानी’ भएको बताए। आफूलाई अरुको जस्तो चिन्ता नभएको उनको भनाइ छ। शर्मासँगको विस्तृत अन्तर्वार्ता बिहीबार नै नेपाल लाइभमा प्रकाशित हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।