एजेन्सी– सिनेमा क्षेत्रमा मलयालम भाषी फिल्मबाट प्रवेश गरेकी कट्रिना कैफ पछिल्लो समय बलिउडकी स्टार अभिनेत्रीका रुपमा स्थापित छिन्।
हङकङमा सन् १९८३ जुलाई १६ मा जन्मिएकी कट्रिनाको पहिलो हिन्दी फिल्म ‘बुम’ (सन् २००३) हो। कट्रिना बलिउडकै भाग्यमानी अभिनेत्रीहरुको सूचीमा पर्छिन्, कारण उनले बलिउडको ‘डेब्यू’ फिल्ममै अमिताभ बच्चनजस्ता दिग्गज कलाकारसँग ‘स्क्रिन सेयर’ गर्ने मौका पाएकी थिइन्। तर, समिक्षकको नजर र व्यापार सबै हिसाबले फिल्म असफल भयो।
‘बुम’पछि कट्रिना तेलुगु फिल्म ‘मल्लीस्वारी’मा देखा परिन्। सन् २००५ मा डेविड धवन निर्देशित रोमान्टिक कमेडी फिल्म ‘मैने प्यार क्यूं किया’बाट भने उनले व्यावसायिक सफलता पाइन्। यस फिल्ममा उनले सलमान खानसँग काम गरिन्। सलमानसँगको भेट र निकटतासँगै कट्रिनाको फिल्मी करिअरले नयाँ मोड लियो। बलिउड उद्योगमा उनको सफलता र चर्चा बढ्दै गयो।
कट्रिनाका नमस्ते लन्डन(२००७), न्युयोर्क(२००९), अजब प्रेमकी गजब कहानी(२००९), राजनीति(२०१०), जिन्दगी ना मिलेगी दोबारा(२०११), एक था टाइगर(२०१२), धूम ३(२०१३) लगायत फिल्म सफल मानिन्छन्।
उनी अभिनित फिल्महरुले बक्स–अफिसमा राम्रो व्यापार गरे पनि पुरुषप्रधान चरित्रको छायामा परेको र एकैनासको अभिनय गरेको भनेर उनीमाथि बरोबर आलोचना पनि हुने गरेको छ।
हाल कट्रिना शाहरुख खानको फिल्म ‘जिरो’मा व्यस्त छिन्। केही समय अघि फिल्म ‘टाइगर जिन्दा हे’मा सलमानसँग पर्दामा देखिएकी उनी अब आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’मा पनि देखिँदै छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।