काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र र राजसंस्थाबारे राप्रपा प्रजातान्त्रिकको आधिकारिक धारणा नआएसम्म वार्ता नगर्न आफ्नो वार्ता टोलीलाई निर्देशन दिएका छन्। थापाको यस्तो निर्देशनपछि दुई राप्रपाबीचको एकताका लागि सुरु भएको वार्ता प्रक्रिया स्थगित भएको छ।
सार्वजनिक अभिव्यक्तिमार्फत राप्रपा प्रजातान्त्रिकका केही नेताले राप्रपाले हिन्दू राष्ट्र र राजतन्त्रको मुद्दाबारे पुनर्विचार गर्नुपर्ने बताउँदै आइरहेका थिए। केही दिनअघि मात्र राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनील थापाले राप्रपाले हिन्दू राष्ट्र र राजतन्त्रको मुद्दा छाडेमा मात्र एकता हुन सक्ने बताएका थिए। ‘यस्ता अभिव्यक्ति आएपछि अध्यक्षले आफ्नो वार्ता टोलीलाई वार्ता प्रक्रिया रोक्न भन्नुभएको हो,’ राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘राप्रपा आफ्ना एजेन्डा गुमाउन चाहँदैन।’
पार्टी एकताका लागि छलफल अघि बढाउन दुवै पार्टीले वार्ता टोली बनाएका थिए। टोलीमा राप्रपाबाट वुद्धिमान तामाङ, टंक ढकाल र राजेन्द्र लिंदेन छन् भने राप्रपा प्रजातान्त्रिकबाट दीपक बोहरा, विक्रम पाण्डे र सुनील थापा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।