काठमाडौं- प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ। बैठक आइतबार ११ बजेका लागि बोलाइएको छ। बैठकमा नेपाली कांग्रेसका सांसदहरु अनुपस्थित रहेपछि बैठक स्थगित भएको हो।
हिजोको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सदनमा उठेका प्रश्नहरुको जवाफ दिए लगत्तै प्रश्नोत्तर गर्न कांग्रेस सांसदहरुले माग गरेका थिए। तर सभामुखले परराष्ट्रमन्त्री ज्ञवालीलाई युरोप भ्रमणबारे सदनलाई जानकारी गराउन समय उपलब्ध गराएका थिए। प्रश्नोत्तरको मौका नदिएको भन्दै सदमा उठेका कांग्रेस सांसदहरुलाई सभामुख कृष्णबहादुर महराले अर्को दिन प्रश्न गर्ने समय दिने भन्दै बस्न आग्रह गरेका थिए। तर, कांग्रेस सांसदहरुले अस्वीकार गरे।
उता सभामुखले भने कांग्रेसको विरोधका बीच संसद बैठक अगाडि बढाइरहे। उनले प्रतिनिधिसभाको विषयगत समितिमा रहने सांसदहरुको नाम पढेर सुनाएका थिए। त्यसपछि सभामुखले पुन बस्न आग्रह गर्दै अर्थमन्त्री युवराज खतिवडालाई बीमा विधेयक पेश गर्न आग्रह गरे।
त्यसपछि, आफूहरुलाई समय नदिएको र एकोहोरो सदन सञ्चालन गरिरहेको भन्दै कांग्रेस सांसदहरु बैठक छाडेर बाहिरिएका थिए। आजको बैठकमा भने प्रतिपक्षी कांग्रेसका सांसदहरु सदनमै उपस्थित भएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।