काठमाडौं– भूकम्पले क्षतिग्रस्त भानु माध्यमिक विद्यायलय (दरबार हाइस्कुल) को पुनर्निर्माणको काम सुरु भएको छ।
चीन सरकारको सहयोगमा पुनर्निर्माण गर्न लागिएको नेपालकै पुरानो विद्यालयको शुक्रबार शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनियाँ राजदूत यु होङले संयुक्त रुपमा शिलन्यास गरेका छन्।
भूकम्पपछिको पुनर्निर्माणका लागि २३ जुलाई २०१५ मा २५ वटा पुनर्निर्माणका आयोजनामा नेपाल सरकार, अर्थमन्त्रालय र चीन सरकारको वाणिज्य मन्त्रालयबीच भएको सम्झौता अनुसार दरवार हाइस्कुलको पुनर्निर्माण सुरु भएको हो। विद्यालय पुनर्निर्माणको शिलन्यास गर्दै मन्त्री पोखरेलले पुरानै डिजाइनमा तोकिएकै मितिमा विद्यालय निर्माण हुने विश्वास व्यक्त गरे।
मन्त्री पोखरेलले आफूले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि १० बुँदे मार्गचित्र सार्वजनिक गरेको र त्यसमा सम्पूर्णतामा विद्यालयको अवधारणा पनि समावेश गरेको जनाउँदै पुनर्निर्माणपछि दरबार हाइस्कुल त्यही अवधारणामा अघि बढ्ने बताए।
चीन सरकार आफैंले छानेको निर्माण व्यवसायीद्वारा पुनर्निर्माण गर्न लागिएको यो विद्यालयको २० महिनाभित्र निर्माण पूरा गर्नुपर्नेछ। १ सय ६५ वर्ष पहिले स्थापना भएको दरबार हाइस्कुल मुलुककै जेठो विद्यालय हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।