वासिङ्टन– अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार नयाँ पत्र लेखेको जनाएको छ।
ट्रम्पले बिहीबार ट्विट गर्दै किमलाई धन्यवाद दिएका छन्। ‘शिष्ट पत्रका लागि धेरै धन्यवाद। आशा छ हाम्रो भेट चाँडै हुनेछ।,’ राष्ट्रपति ट्रम्पले भने।
ह्वाइट हाउसकी प्रवक्ता सराहा स्यान्डर्सले ‘सिंगापुर शिखर बैठकलाई निरन्तरता दिन’ र त्यस बैठकमा जारी संयुक्त वक्तव्यमा व्यक्त प्रतिवद्धता अनुरुप अघि बढ्ने उपायका बारेमा पत्राचार केन्द्रित रहेको बताइन्।
ह्वाइट हाउसले ट्रम्प र किमबीच तत्कालै भेटघाट हुने बारे केही खुलाएको छैन।
उपराष्ट्रपति माइक पेन्स र अमेरिकी सैनिक नेतृत्वले हवाईमा बुधबार मात्र सन् १९५० को दशकमा भएको कोरियाली युद्धमा हराएका अमेरिकी सैनिकका अवशेष बुझेका थिए।
उत्तर कोरियाले लामो दूरीसम्म मार हान्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम पुनः सुरु गरेको र आणविक निशस्त्रीकरण कार्यक्रमप्रति चासो व्यक्त भइरहेको अवस्थामा नयाँ चिठी वासिङ्टन पुगेको छ। रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।