गुवाहटी– भारतको आसाम राज्यमा नेसनल रजिष्टर अफ सिटिजन्स (एनआरसी)को मस्यौदामा केही नागरिकको नाम छुटेको भनी प्रतिपक्षी दलको व्यापक विरोधपछि आसामका गभर्नर जगदिस मुखीले सबै भारतीयको नाम अन्तिम सूचीमा आउने आश्वासन दिएका छन्।
बिहीबार गभर्नर मुखीले भने,‘एनआरसीको ड्राफ्ट आसामी जनताका लागि ऐतिहासिक विषय भएको र यो स्थानीय जनताको आकाङ्क्षा बमोजिम नै आएको हो।’
‘धेरै जनताले आफ्नो नाम एनआरसीमा नभेटिएपछि चिन्ता व्यक्त गर्नुभएको छ। मैले यो विश्वस्त पार्न चाहन्छु कि, जसको नाम भारतीय भएर पनि पहिलो सूचीमा समावेश भएको छैन, अन्तिम सूचीमा उनीहरू छुट्ने छैनन्।’, उनले भने।
जुलाई ३० मा सार्वजनिक एनआरसी मस्यौदामा तीन करोड २९ लाख निवेदकमध्ये दुई करोड ८९ लाख नागरिकको नाम समावेश भएको र करिब ४० लाख आसामी नागरिक छुटेको भन्ने व्यापक गुनासोपछि यहाँको प्रतिपक्षी दलले मुद्दालाई सशक्त रूपमा उठाउँदै आएको छ।
यस विषयले प्रमुख प्रतिपक्षी समूहको सत्ताधारी भारतीय जनता पार्टीसँगको सम्बन्धमा निकै समस्या देखिएको स्थानीय समाचार संस्थाहरूले जनाएका छन्।
छुटेका नामहरूको विषयलाई समर्थन गर्दै गभर्नर मुखीले भने,‘छुटेका नाम र विदेशीबारे जानकारी पाउने केन्द्र सरकारको अधिकार हुन्छ। सरकारको तर्फबाट म यो कुरा आश्वस्त पार्छु कि छुटेका भारतीयको नाम अन्तिम सूचीमा समावेश हुनेछन् र हरेक नागरिकको सुरक्षाका लागि सरकारले ग्यारेन्टी दिलाउनेछ।’
‘अहिलेको सूची नागरिकको सूचीमात्र नभै राज्यमा बसोबास गर्ने सबै जनसङ्ख्याको गतिविधिको रेकर्ड हो’, उनले थपे,‘यसले राज्यमा सुरक्षाका लागि पूर्ण प्रमाणको लेखाजोखा गर्नेछ।’
एनआरसीको पहिलो मस्यौदा सन् २०१७ को डिसेम्बर ३१ मा प्रकाशित गरिएको थियो जसमध्ये एक करोड ९० लाख नाम पछिल्लो ड्राफ्टमा समावेश गरिएको थियो। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।