काठमाडौं- कृषि तथा वन विज्ञान विश्वविद्यालयले ८ निजी कलेजको सम्बन्धन स्थगन गरे पनि चितवन रामपुरस्थित केन्द्रीय क्याम्पस खुल्न सकेको छैन। गत सोमबारको मन्त्रिपरिषद् बैठकले सम्बन्धनको निर्णय रोकेको थियो।
असार २१ मा विश्वविद्यालयको कार्यकारी परिषद्ले निजी कलेजहरुलाई सम्बन्धन दिने निर्णय गरेपछि आन्दोलित बनेका प्राध्यापक तथा विद्यार्थीले केन्द्रीय क्याम्पसमा तालाबन्दी नै गरेका थिए।
आन्दोलनरत पक्षले निजीको सम्बन्धन खारेज हुनुपर्ने, कृषि काउन्सिल गठन गर्नुपर्ने, कृषि र वन विज्ञान शिक्षालाई सम्बोधन गर्नेगरी नीति ल्याउनुपर्ने लगायतका माग राखेका थिए।
सरकारले सम्बन्धनलाई स्थगित गरे पनि कृषि काउन्सिल र कृषि शिक्षा नीतिका विषयमा कुनै निर्णय गरिसकेको छैन। आफ्ना अन्य माग पनि सम्बोधन हुनुपर्ने आन्दोलनरत पक्षको अडानले विश्वविद्यालय खुल्न नसकेको हो।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सरोज रेग्मीले सबै मुद्दाको सुनुवाइ होस् भनी विद्यार्थी र प्राध्यापकहरुले आन्दोलन जारी राखेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।