काठमाडौं– एकदिवसीय मान्यता पाएको साढे ४ महिना पछि नेपालले बुधबार एकदिवसीय खेलमा डेब्यू गरेको छ। बुधबार नेदरल्यान्ड्ससँग खेल्दै नेपालले ऐतिहासिक खेल खेलेको हो। पहिलो खेलमा नेपाल ५५ रनले पराजित भयो। नेपालले अब दोस्रो एकदिवसीय खेल शुक्रबार खेल्नेछ।
खेलमा नेपालका कप्तान पारस खड्काले ४ विकेट लिएका थिए। ओपनर ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेका थिए। नेपालका अन्य ब्याट्सम्यानले सम्हालिएर ब्याटिङ गर्न नसक्दा खेल नेदरल्यान्ड्सले जित्यो। खेलपछि नेपाल कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लसँग क्रिके इन्फोले प्रतिक्रिया लिएको छ।
पढ्नुहोस् प्रतिक्रिया :-
पारस खड्का
हामीले जित्न सक्थ्यौं भन्ने थाहा थियो। 'यदि र तर'ले मात्र खेल जितिन्न। मैदानमा प्रमाणित गरेर देखाउनु पर्छ। अर्को खेलमा हामी अझै राम्रो खेल्नेछौं र जित निकाल्नेछौं।
मेरो विचारमा हामीले केहि क्षेत्रमा राम्रो गर्न सकेनौं। हामीले केही राम्रा प्रहार गर्न सक्थ्यौं। मैले पाएका केही अवसर सुदपयोग पनि गरे। तर धैर्यता हुनु पर्थ्यो। केहि बाउन्सहरु पक्कै भएको थियो। तर समग्रमा विकेट खराब थिएन। मेरो बिचारमा हामीले यो भन्दा पनि राम्रो ब्याटिङ गर्नु पर्थ्यो।
१८–१९ ओभरमा म र ज्ञानेन्द्रले ब्याटिङ गरिरहदा हामीले खेल नियन्त्रणमा लिएका थियौं। त्यसपछि भने हामीले लय गुमायौं। लगातार विकेट जादा हामी दबावमा आयौं। हामीले समग्रमा राम्रो खेलेका थियौं। ब्याटिङमा थेरै सम्हालिएको भए सजिलै खेल जित्न सक्थ्यौं। मैले र ज्ञानेन्द्रले पिचमा धेरै बेर टिक्दा खेल जित्ने विश्वास गरेका थियौं। तर त्यस्तो हुन सकेन। अर्को खेल राम्रो ब्याटिङ गर्नेमा आशावादी छु।
ज्ञानेन्द्र मल्ल
मैले सिकेको कला देखाउने प्रयास गरेको हुँ। उमेश पटवाल ब्याटिङ कोच हुँदा उहाँले सिकाएको ब्याटिङको तरिकाहरु मैले प्रयोग गरे। यसअघि मैले राम्रो रन हान्न सकिरहेको थिइन। त्यहि भएर म दबाबमा थिए। अहिले नयाँ प्रतियोगिता र नयाँ खेल भएकालेविस्तारै आफ्नो क्षमता देखाउने मौका पाए। मानसिक रुपमा बलियो हुँदा मैले रन बनाउन सके।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।