नेपालगन्ज– बाढी र डुबानका कारण घर भत्किएर कष्टपूर्ण अवस्थामा बस्दै आएका बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित फत्तेपुरका १ सय ४ परिवारका लागि सुरक्षित घर निर्माण सुरु भएको छ।
गत वर्ष आएको बाढीले राप्ती सोनारी गाउँपालिका–६, फत्तेपुरमा १ सय ६९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए। ती घरहरुमध्ये पहिलो चरणमा ह्याबिटाट फर ह्युमानिटी, महिला उपकार मञ्चले जिल्ला विपद व्यवस्थापन समिति र गाउँपालिकासँग समन्वय गरेर १ सय ४ घर निर्माण सुरु गरेको हो।
निर्माण गर्न लागिएका घरहरु बाढी र भूकम्प प्रतिरोधी २ कोठा, एउटा भान्सा र बरन्डा भएको पक्की घर हुने छन्।
‘बाढी र डुबानका कारण घर भत्किएपछि गोठ तथा त्रिपालको टहरामा कष्टपूर्ण रुपमा बस्दै आएका गरिब, विपन्न, एकल महिला र अपाङ्ग परिवार छनौट गरी घर निर्माण गर्न लागिएको हो।’, ह्युमानिटीमा परियोजनाका संयोजक सजन महर्जनले भने।
संयोजक महर्जनका अनुसार घर निर्माणमा पहिलो चरणमा बाढीबाट पूर्णरुपमा क्षतिग्रस्त अति गरिब र विपन्न समुदायका ४० घरका लागि जनही २ लाख ५० हजार रुपैयाँ तथा आफूले पनि केही लगानी गर्नसक्ने ६४ घरका लागि ५० हजार देखि १ लाख रुपैयाँसम्मको निर्माण जस्तापाता, छड, सिमेन्ट लगायतका निर्माण सामाग्री, दक्ष मिस्त्री र अन्य प्राविधिक उपलब्ध गराइने छ।
घर निर्माणका लागि आवश्यक जनशक्ति गाउँमै तयार पार्नका लागि स्थानीय मिस्त्रीहरुलाई ७ दिने तालिम दिइने बताइएको छ। गाउँमै उपलब्ध सामाग्रीहरु ढुंगा, माटो तथा काठको प्रयोग गरी घर निर्माण गरिने संयोजक महर्जन बताउँछन्।
‘जस्तापाता, छड, सिमेन्ट लगायतका निर्माण सामाग्री, दक्ष मिस्त्रीको खर्च संस्थाले उपलब्ध गराउँछ। गाउँमा उपलब्ध हुने निर्माण सामाग्री तथा सहयोगी कामदारहरु भने घरधनीले उपलब्ध गराउनुपर्ने छ।’, उनले भने।
बाढी र डुबानका कारण घर भत्किएर समस्यामा परेका परिवारलाई विभिन्न संघ संस्थाहरुको सहयोगमा सुरक्षित घर निर्माण सुरु गरिएको राप्ती सोनारी गाउँपालिका–६ का वडाध्यक्ष जनक चौधरीले बताए।
सो कार्यका लागि आवश्यक समन्वय तथा सहयोगका लागि फत्तेपुरका समाजसेवी लाल बहादुर थापाको संयोजकत्वमा ३० सदस्यीय समिति समेत गठन गरिएको छ। घर निर्माणको काम २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
अति विपन्न एक अपाङ्ग परिवारका लागि एउटा घर भने स्थानीय बासिन्दाहरुको सहयोगमा संस्थाले सम्पूर्ण खर्च ब्यहोरेर बनाइ दिने भएको छ।
२०७४ साउन २७ गते आएको बाढीले बाँकेमा ९ हजार बढी परिवार विस्थापित भएका थिए। जसमध्ये पूर्ण क्षति भोगेका कतिपय बाढीपीडितहरु अझै पनि घरबिहिन छन्। कतिपय भने सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन्। आफ्नै जग्गा भएका परिवारका लागि घर निर्माण गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।