काठमाडौं– ज्ञानेन्द्र मल्लले एकदिवसीय खेलमा नेपालको तर्फबाट पहिलो अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाएका छन्। बुधबार नेदरल्यान्ड्सविरुद्धको खेलमा ओपनिङमा आएका ज्ञानेन्द्रले ५६ बल खेलेर अर्धशतक पूरा गरेका थिए। अर्धशतक बनाउन उनले ८ चौका प्रहार गरे। उनी ५१ रनमा आउट भए।
त्यसअघि भिआरए मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ४७.४ ओभरमा १ सय ८९ रनमा अलआउट भयो।
नेदरल्यान्ड्सका लागि मिचेल रिप्पोनले ५१ रन जोडेका थिए। माइब्रुगले २९ रन र लिडीले ३० रनको योगदान दिए।
नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गरे। उनले ४ विकेट लिए। सोमपाल कामीले ३ विकेट हात पारे। सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले समान १–१ विकेट हात पारे
एकदिवसीय मान्यता हासिल गरेको साढे ४ महिनापछि नेपालले बुधबार एकदिवसीय खेलमा डेब्यू गरेको हो। नेदरल्यान्ड्सँग बुधबार खेलेपछि नेपाल औपचारिक रुपमा कान्छो एकदिवसीय टिम बन्न सफल भयो। गत चैत १ गते नेपाली क्रिकेट टिमले एकदिवसीय मान्यता हासिल गरेर इतिहासकै ठूलो सफलता हात पारेको थियो।।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।