काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरुले उम्मेदवारी दर्ता गराएका छन्। विगतभन्दा यसपटक गठबन्धन भर्सेस गठबन्धनको प्रतिस्पर्धा हुने देखिएको छ।
सत्ता गठबन्धनभित्र नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्। यता विपक्षी गठबन्धनमा नेकपा एमाले, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाललगायत छन्। त्यस्तै केही क्षेत्रमा स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन्।
प्रतिनिधि सभाको १६५ र ३३० प्रदेश सभाका लागि प्रतिस्पर्धा हुँदैछ। मंसिर ४ गते हुने निर्वाचनका लागि ५ हजार उम्मेदवार चुनावी दौडमा रहेका छन्। ती मध्ये ४९५ जना चयन हुने छन्। प्रतिनिधि सभाबाट उनहरु सांसद हुदै नयाँ सरकार बनाउने छन् भने प्रदेश सभा गठन गर्दै प्रदेश सरकार निर्माण गर्नेछन्।
विगतमा झैं यसपटक पनि केही क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। केही निर्वाचन क्षेत्रमा द्धिपक्षीय प्रतिस्पर्धा हुने छ भने थोरै मतले बाजी मार्न सक्ने देखिन्छ। सत्ता पक्ष गठबन्धन भर्सेस प्रतिपक्ष गठबन्धनको रुपमा अधिकांश क्षेत्रमा प्रतिस्पर्धा हुने आकलन गर्न सकिन्छ।
केही रोचक क्षेत्रः जहाँ हुने छ ‘नेक टु नेक’
प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्रमध्ये केही क्षेत्रमा दुवै पक्षका उम्मेदवारको ‘नेक टु नेक ’ प्रतिस्पर्धा हुने देखिन्छ।
मोरङ ६ शेखर कोइराला/लालबाबु पण्डित
मोरङ ६ मा सत्ता गठबन्धनविरुद्ध प्रतिपक्ष गठबन्धनको प्रतिस्पर्धा हुँदै छ। २०७४ सालको निर्वाचनमा प्रतिस्पर्धा गरेका पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा रहेका छन्। २०७४ सालको निर्वाचनमा लालबाबु पण्डितले शेखर कोइरालाई पराजित गरेका थिए।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका पण्डितसँग ६७५ मतले कोइराला पराजित भएका थिए। लालबाबुले ३३ हजार ९४१ मत ल्याए भने डा. शेखरले ३३ हजार २६६ मत ल्याएका थिए। त्यसबेला एमाले र माओवादीबीच गठबन्धन भएको थियो।
तर, अहिले एमाले र जसपा तथा नेपाली कांग्रेस, लोसपा र माओवादी केन्द्रसहितको गठबन्धन रहेको छ। गत स्थानीय निर्वाचनको वडास्तरको मतलाई हेर्दा कांग्रेसले २७ हजार ८६ मत पाएको छ।
एमालेले २४ हजार ५५६ र माओवादी केन्द्रले ४ हजार ९९६ मत पाएको छ। यस क्षेत्रका वडाहरुबाट जसपाले ३ हजार ९३९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ हजार ११५ र एकीकृत समाजवादीले २ हजार ३५५ मत पाएको छ। यो मतभारको आधारमा हेर्दा शेखरले अघिल्लो हारको बदला लिने देखिन्छ।
गुल्मी–१ प्रदीप ज्ञवाली/चन्द्र भण्डारी
अर्को कडा प्रतिस्पर्धा हुने क्षेत्रको रुपमा गुल्मी–१ लाई हेरिएको छ। जहाँ अघिल्लो निर्वाचनमा ज्ञवाली विजयी भएका थिए। ज्ञवाली र भण्डारी पुरानै प्रतिस्पर्धी हुन्। त्यसबेला ज्ञवालीले ३७ हजार ८ सय १४ मत ल्याएर जित हात पारेका थिए।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले ३० हजार २ सय ५६ मत प्राप्त गरे। ७ हजार ५ सय मतले भण्डारी पराजित भएका थिए। उक्त निर्वाचनमा ज्ञवालीलाई माओवादी केन्द्रले साथ दिएको थियो। तर, यसपटक माओवादी केन्द्रले भण्डारीलाई सहयोग गर्ने छ। यसरी हेर्दा दुवैको प्रतिस्पर्धा कडा टक्करको हुने देखिन्छ।
गुल्मी–२ गोकर्ण विष्ट/रामकुमारी झाँक्री
यी दुई नेकपा एमालेका पुराना सहकर्मी हुन्। नेकपा एमालेकी युवा नेतृ झाँक्री २०७४ सालमा समानुपातिकतर्फ सांसद भएकी थिइन् भने विष्ट यही क्षेत्रबाट निर्वाचित भएका थिए। उक्त निर्वाचनमा विष्टलाई जिताउन झाँक्री खटिएकी थिइन्।
तर, एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी निर्माण भएपछि अहिले कुनै समयमा सहकर्मीहरु एक अर्काविरुद्ध निर्वाचनको मैदानमा उभिएका छन्। विष्टले कांग्रेस उम्मेदवार चन्द्रबहादुर केसीलाई १४ हजार ४६१ मत अन्तरले हराएका थिए। विष्टले २०७४ सालमा ३४ हजार ६१८ मत प्राप्त गर्दै जित हात पारेका थिए।
उनका प्रतिस्पर्धी केसीले २० हजार १५७ मत पाएका थिए। तत्कालीन समयमा माओवादी केन्द्रले पनि विष्टलाई सहयोग गरेको थियो। तर, यसपटक झाँक्रीलाई माओवादीसहित कांग्रेसले समर्थन गरेको छ। यही कारण उनीहरु दुवैकाबीचमा कडा टक्कर हुने देखिएको छ।
झापा–३ कृष्ण सिटौला/राजेन्द्र लिङदेन
झापा–३ यसपटक पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ। भmापा–३ मा एमालेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई यसपटक पनि समर्थन गरेको छ। २०७४ सालको निर्वाचनमा पनि एमालेले समर्थन गर्दा लिङदेन विजयी भएका थिए। सिटौला तत्कालीन समयमा १३ हजार मतान्तरले पराजित भएका थिए।
कृष्णप्रसाद सिटौलाले ३१ हजार १५९ मत ल्याए भने वाम गठबन्धनकोसमेत समर्थन पाएका लिङ्देनले ४४ हजार ६१४ मत ल्याएका थिए। यसपटक लिङदेनलाई एमालेको साथ छ भने सिटौलालाई माओवादी केन्द्रको सहयोग छ।
धनकुटा– सुनिलकुमार थापा/राजेन्द्र राई
राप्रपाका स्थपनाकालका नेता सूर्यबहादुर थापाका छोरा सुनिलकुमार थापा नेपाली कांग्रेसबाट सक्रिय राजनीतिमा रहेका छन्। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार भएका थापा यसपटक सोही पार्टीबाट चुनावी मैदानमा होमिएका छन्।
एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा नेकपा एमालेका राजेन्द्रकुमार राई विजयी भएका थिए। राईले ३७ हजार ३३३ मत ल्याएर जित हासिल गरेका थिए। थापाले २६ हजार ८७४ मत प्राप्त गरे। यसपटक थापालाई माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुले समर्थन गरेका छन्।
सुनसरी– ३ विजय गच्छदार/भगवती चौधरी
यो निर्वाचनमा पनि प्रतिस्पर्धीको रुपमा भगवती चौधरी र विजयकुमार गच्छदार चुनावी मैदानमा छन्। गच्छदार यो पटक पनि चौधरीलाई पराजित गर्दै सातौंपटक सांसद हुने आकांक्षा बोकेर चुनावी मैदानमा छन्। उनीहरु पुरानै प्रतिस्पर्धी हुन्। हरेक पटकको निर्वाचनमा चौधरी थोरै मतले पराजित हुँदै आएकी छन्।
२०७४ सालको निर्वाचनमा पनि कडा टक्करकाबीचमा चौधरीलाई गच्छदारले पराजित गरेका थिए। वाम गठबन्धनकी चौधरी ३२१ मतले पराजित भएकी थिइन्। योसँगै छैटौं पटक सांसद भएका थिए। गच्छदारले ३८ हजार ९७२ मत पाउँदा भगवतीले ३८ हजार ६५१ मत पाइन्।
गच्छदार २०४८, २०५१, र २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए भने २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा मधेशी जनअधिकार फोरम र २०७० सालको संविधान सभो निर्वाचनका मधेशी अधिकार फोरम(लोकतान्त्रिक)बाट सांसद भएका थिए।
यसपटक भने उनी विवादित भएका छन्। ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा सहयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनी लामो समय फरार रहेर अदालत हाजिर हुँदै धरौटीमा रिहा भएका थिए।
सप्तरी–२ उपेन्द्र यादव/सिके राउत र गठबन्धन
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई यसपटक राष्ट्रिय जनमत पार्टी निर्माण गरेर निर्वाचनमा होमिएका सिके राउतले चुनौती दिँदैछन्। सुरुदेखि सत्ता गठबन्धनमा रहेका यादव अन्तिम समयमा नेकपा एमालेसँग तालमेल गर्न पुगेका थिए।
उक्त क्षेत्रमा गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन्। २०७४ सालको निर्वाचनमा पनि उनले उक्त क्षेत्रवाट जित निकालेका थिए। यादवले २१ हजार ६ सय २० मत ल्याउँदै जित हात पारेका थिए भने उनको प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार उमेश यादव थिए। उनले ११ हजार ५ सय ८० मत ल्याएका थिए।
तत्कालीन समयमा उक्त क्षेत्रमा फोरम नेपाल र राजपाको संयुक्त गठबन्धन थियो। यस पटक यी दुई दल एक अर्काविरुद्ध फरक–फरक गठबन्धनभित्र रहेर प्रतिस्पर्धा गरिरहेका छन्। यसैकारण राउत र गठबन्धनका उम्मेदवारले यादवलाई कडा टक्कर दिने देखिन्छ।
काठमाडौंं–१ प्रकाशमान सिंह/रवीन्द्र मिश्र
काठमाडौंं–१ यसपटक सबैले चासो राखेको क्षेत्र हो। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई साझा विवेकशील पार्टीबाट उम्मेदवारी दिएका रवीन्द्र मिश्रले कडा टक्कर दिएका थिए। यसपटक फेरि सिंह र मिश्र आमुन्ने–सामुन्ने भएका छन्।
सिंह नेपाली कांग्रेसको नेतृत्वको गठबन्धनबाट उम्मेदवार छन् भने मिश्र राप्रपा प्रवेश गर्दै उम्मेदवार भएका छन्। उक्त क्षेत्रमा सिंहलाई चुनौती दिन नेकपा एमालेले किरण पौडेललाई उम्मेदवार बनाएको छ। त्यस्तै रमेश खरेल र पुकार बमले पनि उक्त क्षेत्रमा उम्मेदवारी दिएका छन्।
काठमाडौंं–५ ईश्वर पोखरेल/प्रदीप पौडेल
काठमाडौं–५ मा यसपटक नेपाली कांग्रेसका प्रदीप पौडेल गठबन्धनका उम्मेदवार छन् भने एमालेबाट ईश्वर पोखरेल। २०७४ सालको निर्वाचनमा पोखरेल उक्त क्षेत्रबाट निर्वाचित भएका थिए। पौडेल तनहुँको प्रदेशतर्फ उम्मेदवार भएपछि पराजित भएका थिए।
तनहुँमा भाग नपाउने भएपछि उनी यसपटक काठमाडौंमा उम्मेदवार बनेका हुन्। यसपटक पोखरेललाई युवा उम्मेदवार र गठबन्धन गरेका कारण चुनौती दिने देखिन्छ। २०७४ सालमा पोखरेलले नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महतलाई ९ हजार ८ सय ६० मत बढी ल्याएर पराजित गरेका थिए।
पोखरेलले २३ हजार २९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महतले १३ हजार १६९ मत ल्याएका थिए। विवेकशील साझा पार्टीका उम्मेदवार उज्जल थापाले ६ हजार ८ सय ५३ मत ल्याएका थिए।
ललितपुर–१ उदय शमशेर राणा/नवराज सिलवाल
ललितपुर क्षेत्र नम्बर १ मा यसपटक चिरपरिचित प्रतिद्वन्द्वी आमुन्ने–सामुन्ने भएका छन्। २०७४ सालको निर्वाचनमा प्रतिस्पर्धी भएका उनीहरु २०७९ को निर्वाचनमा पनि चुनावी मैदानमा छन्। २०७४ सालमा ललितपुर–१ मा वाम गठबन्धनतर्फबाट सिलवाल उम्मेदवार भएका थिए। यसपटक उनी एमालेबाट मात्र प्रतिस्पर्धा गर्दै छन्।
तत्कालीन समयमा सिलवाल २६ हजार ९५१ मत ल्याएर विजयी भएका थिए। पूर्व डिआइजी सिलवालका प्रतिद्वन्द्वी राणाले २० हजार ७२९ मत मात्र पाएका थिए। यसपटक नेकपा माओवादी र एकीकृत समाजवादीको साथ राणाले पाएका छन्। सत्ता गठबन्धनको साथ पाएकाले राणा पाँच वर्षअघिको नतिजा उल्टाउने दाउमा छन्।
सिन्धुपाल्चोक–२ मोहन बस्नेत/शेरबहादुर तामाङ
सिन्धुपाल्चोक–१ बाट निर्वाचन लड्दै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत यसपटक इच्छा नहुँदा नहुँदै पनि क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभाको उम्मेदवार हुन पुगेका छन्। २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार निर्वतमान सभामुख अग्निप्रसाद सापकोटासँग पराजित भएका बस्नेत यसपटक नेकपा एमालेका शेरबहादुर तामाङसँग प्रतिस्पर्धाका लागि मैदानमा छन्।
तीनपटक जनप्रतिनिधि भएका तामाङलाई यसपटक बस्नेतले चुनौती दिँदैछन्। २०७४को निर्वाचनमा तामाङले राप्रपाका पशुपति शमशेर राणालाई पराजित गरेका थिए। उनले ३८ हजार ४ सय १ मत पाएका थिए।
स्याङजा–२ पद्मा अर्याल/धनराज गुरुङ
स्याङजा क्षेत्र नम्बर–२ मा यसपटक हेविवेट उम्मेदवारकाबीचमा प्रतिस्पर्धा हुने देखिन्छ। नेपाली कांग्रेसका उप–सभापति गुरुङ र एमाले सचिव अर्याल पहिलो पटक प्रतिस्पर्धा गर्दैछन्। २०७४ सालमा अर्याल उक्त क्षेत्रबाट निर्वाचित भएकी थिइन्।
सत्ता गठबन्धनबाट गुरुङ उम्मेदवार भए पनि आफ्नै पार्टीको बागीका कारण उनी तनावमा रहेका छन्। नेकपा एमालेकी अर्यालका लागि पनि गुरुङको आगमनले चुनौती थपेको छ। २०७४ सालमा पनि अर्यालले कांग्रेसका हेविवेट उपप्रधान तथा शिक्षामन्त्री रहेका गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन्। स्याङजा–२ बाट अर्यालले ३५ हजार १४२ मत प्राप्त गरेकी थिइन् भने श्रेष्ठले ३१ हजार ४३६ मत प्राप्त गरेका थिए।
रुपन्देही–३ बालकृष्ण खाण/दीपक बोहोरा
गृहमन्त्री बालकृष्ण खाण र राप्रपाका दीपक बोहोरा पुरानै प्रतिस्पर्धी हुन्। यसपटक बोहोरा एमालेको समर्थनमा उम्मेदवार भएका छन् भने खाण सत्ता गठबन्धनको सहयोगमा चुनावी मैदानमा छन्। २०७४ सालको निर्वाचनमा खाण समानुपातिकमा बसे भने बोहोरा घनश्याम भुसालसँग पराजित भए।
एमालेका भुसालले यसपटक टिकट नै पाएनन्। उनी स्वतन्त्र उम्मेदवार हुँदै रुपन्देही क्षेत्र नम्बर १ मा पुगेका छन्। २०७४ मा बोहोरालाई नेपाली कांग्रेसले सहयोग गरेको थियो।
२०७४ को निर्वाचनमासमेत २७ हजार ४ सय २२ मत ल्याएर बलियो वाम गठबन्धनका उम्मेदवार घनश्याम भुसालसँग कडा टक्कर गरेका थिए। भुसालले ३२ हजार मत ल्याउँदै जित हात पारेका थिए।
बाँके–२ धवल शमशेर राणा/मोहमद इस्तियाक राई
बाँके–२ मा यसपटक गठबन्धनका प्रमुख दलको समर्थनमा राप्रपाले जसपा उम्मेदवारलाई कडा टक्कर दिने देखिन्छ। एमालेको समर्थनमा राप्रपाका धवल शमशेर राणाले जसपाका मोहमद इस्तियाक राईलाई टक्कर दिने भएका छन्।
नेपाली कांग्रेसले सुदिपनरसिंह राणालाई उम्मेदवार बनाएको छ। नेपालगन्ज उपमहानगरपालिका पूर्व मेयर रहेका धवल उक्त क्षेत्रमा लोकप्रिय उम्मेदवार हुन भने राईले पनि जित्दै आएको क्षेत्र हो। २०७४ सालको निर्वाचनमा पनि राई उक्त क्षेत्रबाट निर्वाचित भएका थिए।
दार्चुला– गणेश ठगुन्ना/ दिलेन्द्रप्रसाद बडू
दार्चुला जिल्लामा यसपटक गणेश ठगुन्ना र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूकाबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। २०७४ सालमा निर्वाचित सांसद ठगुन्ना समानुपातिकबाट सांसद हुँदै मन्त्री रहेका बडूसँग प्रतिस्पर्धा गर्ने छन्। बडूलाई उक्त क्षेत्रमा माओवादी र एकीकृत समाजवादीले साथ दिने छ।
बाजुरा– बद्री पाण्डे/कर्ण थापा
नेपाली कांग्रेसका सह–महामन्त्री बन्द्री पाण्डे प्रभावशाली उम्मेदवार हुन्। बाजुराको निर्वाचनमा उनलाई एमालेका स्थायी समिति सदस्य नेता कर्ण थापाले चुनौती दिने छन्। कांग्रेसको महाधिवेशनमा सह–महामन्त्रीमा विजयी भएर पार्टीभित्र प्रभाव जमाएका पाण्डेले भूगोलमा आफ्नो प्रभाव जमाउनुपर्ने भएकाले भएकाले यो निर्वाचन कुनै पनि अवस्थामा उनी जित हात पार्ने दाउमा रहेका छन्।
थापा पनि केन्द्रीय राजनीतिमा आफूलाई स्थापित गर्न जित्ने रणनीतिमा छन्। हालसम्म उनी प्रत्यक्षतर्फ उम्मेदवार भएका छैनन्। थापा भने विगतमा पनि निर्वाचन लड्दै आएका थिए। २०७० सालमा उनी संविधान सभा सदस्य पदमा निर्वाचित भएका थिए।
यसपटकको निर्वाचनमा पाण्डेलाई माओवादी र एकीकृत समाजवादीको सहयोग हुने छ भने थापा एमालेको संघठनका आधारमा जित्ने अपेक्षामा रहेका छन्।
अर्घाखाँची– पुष्पा भुसाल/टोपबहादुर रायमाझी
प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल २०७४ सालमा समानुपातिकबाट सांसद भएकी थिइन्। यसपटक उनी प्रत्यक्षतर्फ एकमात्र निर्वाचन क्षेत्र भएको अर्घखाँचीमा उम्मेदवारी दर्ता गराएकी छन्।
उक्त क्षेत्रमा टोपबहादुर रायमाझी निर्वाचित हुँदै आएका थिए। २०७४ सालमा रायमाझी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। तर, यसपटक उनी नेकपा एमालेबाट उम्मेदवार भएर चुनावी मैदानमा छन्। २०७४ मा उनी एमाले र माओवादी केन्द्रको साझा वाम गठबन्धनका उम्मेदवार हुँदै विजयी भएका थिए।
रायमाझी नेपाली कांग्रेसका उम्मेदवार डा. रामबहादुर बिसीलाई १८ हजार ४ सय ४४ मत अन्तरले पछि पार्दै विजयी भएका थिए।
रायमाझीले ५० हजार ३ सय ८५ मत प्राप्त गरे भने बिसीले ३१ हजार ९ सय ४१ मत ल्याएका थिए। रायमाझी ०६४ र ०७० को संविधान सभामा अर्घाखाँची क्षेत्र नं. १ बाट विजयी भएका थिए। रायमाझी उपप्रधामन्त्री तथा ऊर्जामन्त्री, स्थानीय विकासमन्त्री, भौतिक योजना तथा निर्माणमन्त्री र शान्तिमन्त्री बनिसकेका छन्।
भुसाल पनि उपसभामुख र पार्टीभित्र प्रभावशाली उम्मेदवार हुन्। रायमाझी यसपटक जितेर हाट्रिक गर्ने दाउमा छन् भने भुसाल निर्वाचित हुँदै आफ्नो क्षेत्र बनाउने दाउमा छिन्।
पाल्पा–२ सोमप्रसाद पाण्डेय/ठाकुर गैरे
पाल्पा–२ मा यसपटक कुनै समय नेकपा एमालेमा रहेर पार्टीका लागि काम गरेका व्यक्तिहरुबीचमै प्रतिस्पर्धा हुने देखिएको छ। एमालेभित्र प्रभावशाली रहेका सोमप्रसाद पाण्डेय एकीकृत समाजवादी पार्टीका तर्फबाट उम्मेदवार भएका छन् भने उनको हरेक निर्वाचनमा सहयोगी बन्दै आएका ठाकुर गैरे एमालेबाट उम्मेदवार छन्।
पाण्डेयका कारण सधै टिकटको आकांक्षा राख्ने अनि अवसर नपाउने हुँदै आएका गैरे यसपटक उनलाई नै चुनौती दिँदैछन्। पाण्डेयले उक्त जिल्लाबाट चार पटक जित हात पारेका छन्। पाँचौ पटकको जितका लागि उनी मैदानमा छन् भने गैरे पहिलो पटक उम्मेदवार हुँदै स्थापित हुने दाउमा छन्।
२०७४ मा प्रतिनिधि सभा क्षेत्र नं. २ बाट एमालेका उम्मेदवार बनेका पाण्डेय ३४ हजार ८ सय ९९ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका उम्मेदवार हरिप्रसाद नेपालले २४ हजार ५ सय ५४ मत पाएका थिए।
स्थानीय निर्वाचनको मत हेर्दा एमाले बलियो रहेको छ। पाण्डेयलाई नेपाली कांग्रेस र माआवादी केन्द्रको साथ रहेको छ। त्यस्तै उनलाई आफ्नो पुरानो छविका कारण पनि सहज हुने आकलन गरेका छन्।
लमजुङ– पृथ्वीसुब्बा गुरुङ/देव गुरुङ
नेकपा एमालेका उप–महासचिव पुथ्वीसुब्बा गुरुङले यसपटक प्रतिनिधि सभामा उम्मेदवार हुन चाहेका थिएनन्। उनी फेरि पनि गण्डकी प्रदेशको मुख्यमन्त्रीलाई लक्षित गरेर प्रदेश सभामा बस्न चाहेका थिए। तर, अन्तिममा उनी प्रतिनिधि सभाकै उम्मेदवार भए। लमजुङबाट यसपटक माओवादी केन्द्रका महासचिव देव गुरुङ र पृथ्वीसुब्बा गुरुङ आमुन्ने–सामुन्ने भएका छन्।
लमजुङमा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा वाम गठबन्धन विजयी भएको थियो। प्रतिनिधि सभाको एकमात्र सिटमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ फराकिलो मत अन्तरले विजयी भएका थिए। यसपटक माओवादी केन्द्रका गुरुङलाई नेपाली कांग्रेस र एकीकृत समाजवादीले साथ दिएको छ।
प्रतिनिधि सभामा उनी एमाले र माओवादीको साझा उम्मेदवार भएपछि पृथ्वीसुब्बा गुरुङ प्रदेश सभामा उम्मेदवार भएका थिए। तत्कालीन समयमा देव गुरुङले ३९ हजार ४ सय ६८ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ३४ मत प्राप्त गरेका थिए। उक्त जितलाई यस पटक पनि उनी निरन्तरता दिन चाहेका छन्।
मकवानपुर–१ महालक्ष्मी उपाध्याय (डिना)/कमल थापा
नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले यसपटक प्रत्यक्षमै लड्ने घोषणा महाधिवेशनकै समयमा गरेकी थिइन्। उक्त घोषणाअनुसार मंसिर ४ गते निर्वाचनमा उनी सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी छन्।
मकवानपुर क्षेत्र नम्बर २ मा २०७४ सालको निर्वाचनमा उनी पराजित भएकी थिइन्। तत्कालीन समयमा उनलाई वाम गठवन्धनका तर्फबाट एमाले उम्मेदवार विरोध खतिवडाले पराजित गरेका थिए। तर, यसपटक उनले फरक प्रतिस्पर्धी पाएकी छन्। यसपटक राप्रपा नेपालका अध्यक्ष कमल थापा चुनावी मैदानमा छन्। उनी एमालेको सूर्य चिह्नबाट निर्वाचन लड्दैछन्।
२०७४ सालमा मकवानपुर क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार खतिवडा ४४ हजार ७ सय ४४ मत ल्याएर विजयी भएका थिए। प्रतिस्पर्धी कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ३२ हजार ६ सय ८५ मत ल्याएकी थिइन्।
कांग्रेस नेतृ उपाध्यायसँग त्यो तेस्रो प्रतिस्पर्धा थियो। खतिवडाले नै यसअघि २०४८ र २०५१ मा भएको निर्वाचनमा उपाध्यायलाई पराजित गरेका थिए। यसपटक खतिवडा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन्।
थापा पनि मकवानपुर–१ मा लगातार निर्वाचन लड्दै आएका छन्। तर, उनले एक पटकमात्र जित हात पारेका छन्। यस पटक एमालेको साथ पाएर डिनालाई फेरि पनि पराजित गर्ने दाउमा थापा सूर्य चिह्न लिएर मैदानमा छन् भने डिना यसपटक विजयी हुदै प्रतिनिधि सभामा पुग्ने दाउमा छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।