तुलसीपुर– दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ।
तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम सुरु गरेको थियो।
इँटा र सिमेन्टले बनाएका सीमास्तम्भ भत्किन थालेपछि पुनःनिर्माण थालिएको थियो। दुवै देशको सहमतिमा जीर्ण भएका ती सीमास्तम्भ पुनःनिर्माण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।
‘अब पाँचवटा सीमास्तम्भ पुनःनिर्माण गर्न बाँकी छ।,’ उनले भने। नेपाल र भारतको सहमतिमा नेपालतर्फ बिजोर तथा भारततर्फ जोर नम्बरका सीमास्तम्भ पुनःनिर्माण गरिएको हो। नेपालले १४ वटा मुख्य तथा २१ वटा सहायक सीमास्तम्भ पुनःनिर्माण गरेको हो।
‘नेपालले अब ४ वटा मुख्य र एउटा सहायक सीमास्तम्भ पुनःनिर्माण गर्न बाँकी छ।,’ सीमा सुरक्षाबल अर्जुनखोलाका सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहालले भने।
भारतसीत जोडिएको दाङको ८३ किलोमिटर सीमामा ३७ मुख्यसहित ७७ सीमास्तम्भ रहेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।