काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुले आइतबार मनोनयन दर्ता गराएका छन्।
तर, दलहरुले कतिपय प्रभावशाली नेताहरुलाई नै उम्मेदवार बन्नबाट बञ्चित गराएका छन् भने कतिपयले टिकट पाउँदा समेत उम्मेदवार बन्न अस्वीकार गरेका छन्।
अछाम-१ बाट एकल उम्मेदवारका रुपमा सिफारिस भएका एमाले नेता भीम रावललाई पार्टी केन्द्रले टिकट नै दिएन। उनको ठाउँमा एमालेले झपट बोहोरालाई उम्मेदवार बनाएको छ।
त्यसैगरी अर्का नेता घनश्याम भुसाललाई पनि एमालेले उम्मेदवार बन्नबाट बञ्चित गरायो। टिकट नपाएपछि उनले एमाले छोडेर स्वतन्त्र रुपमा रुपेन्देही-१ बाट उम्मेदवारी दर्ता गराएका छन्।
बादल र अष्टलक्ष्मीले गरे उम्मेदवार बन्न अस्वीकार
एमाले उपाध्यक्षद्वय रामबहादुर थापा बादल र अष्टलक्ष्मी शाक्यले भने निर्वाचन लड्न अस्वीकार गरेका छन्। शाक्यलाई अध्यक्ष ओलीले एक पटक उम्मेदवार बनिदिन आग्रह गर्दा उनले अस्वीकार गरिन्। युवाहरुलाई स्थान दिनुपर्ने भन्दै शाक्यले आफू संसदीय प्रतिस्पर्धामा नजाने बताएकी थिइन्।
त्यसैगरी एमालेका अर्का उपाध्यक्ष बादललाई पार्टीले काठमाडौं- १० बाट उम्मेदवार बनाउने निर्णय गरे पनि उनले अस्वीकार गरेका छन्। यो क्षेत्रबाट सुरेन्द्र मानन्धरको नाम सिफारिस भएको थियो। एकाएक बादलको नाम सिफारिस भएपछि कार्यकर्ताले विरोध जनाएका थिए।
त्यसैगरी युवराज ज्ञवाली, विष्णु रिमाल, घनश्याम भुसाल, रामवीर मानन्धर, पार्वत गुरुङ, आनन्द पोखरेल लगायतका चर्चित नेताहरु यस पटक उम्मेदवार बन्न सकेनन्।
कांग्रेसमा को-को छुटे
सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरु समेत उम्मेदवार बन्नबाट बञ्चित भएका छन्। कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धा गरेर पराजित भएका डा मिनेन्द्र रिजालले समेत टिकट पाएनन्। उनको ठाउँमा कांग्रेस नेतृ सुजाता कोइरालालाई उम्मेदवार बनाइएको छ। आन्तरिक लोकतन्त्रका लागि लडेका कारण आफूलाई उम्मेदवार बन्न रोकेको रिजालले बताएका छन्।
यसैगरी कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा रहेका अर्थविद् स्वर्णीम वाग्ले पनि उम्मेदवार बन्न पाएनन्। चितवन- १ बाट प्रतिनिधि सभाका लागि चर्चामा रहेका वाग्लेको ठाउँमा योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई टिकट दिइएको छ।
सत्ता-गठबन्धनका कारण कांग्रेसका अन्य नेताहरु पनि उम्मेदवार बन्नबाट बञ्चित भएका छन्। जसमध्ये नेता रामशरण महत, गुरु घिमिरे, महेश आचार्य, डिला संग्रौला, भूपेन्द्रजंग शाही, ऐन सिंह महर, अमरेश सिंहले टिकट पाएनन्।
माओवादीमा समेत चर्चित मुहार समेटिएनन्
माओवादी केन्द्रका नेताहरु राम कार्की, उपमहासचिव हरिबोल गजुरेल, लिलामणि पोखरेल, गणेश शाह, चक्रपाणि खनाल, हितमान शाक्य, हितराज पाण्डे यस पटक प्रतिस्पर्धाका लागि अटाएनन्। कतै गठबन्धन र कतै नयाँ अनुहारलाई समेट्नु पर्ने भएका कारण उनीहरु उम्मेदवार बन्न नपाएका हुन्।
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र सभामुख अग्निप्रसाद सापकोटा भने संसदीय प्रतिस्पर्धामा आउनै चाहेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।