बैतडी– भारत सरकारले सहमति नदिँदा महाकाली नदीमा झोलुंगे पुल निर्माण अघि बढ्न सकेको छैन।
पञ्चेश्वरस्थित महाकालीमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको डेढ वर्ष बितिसक्दा पनि भारतले सहमति दिएको छैन। पुल निर्माण नभएपछि अहिले तल्लोस्वराड क्षेत्रका बासिन्दा दैनिक सास्ती खेप्दै आएका छन्।
भारतीय बजार आवतजावत गर्न डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपरिरहेको स्थानीयवासी वीरेन्द्र महताले बताए। 'डुंगाको जोखिमपूर्ण यात्रा अन्त्य हुने आशामा थियौं, भारत सरकारको ढिलासुस्तीले पुल नबन्दा मारमा परेका छौं।'
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको झोलुंगे पुल डिभिजनले भारतसँग सीमा जोडिएको महाकाली नदीमा तीनवटा पुल निर्माणका लागि गत वर्ष ठेक्का सम्झौता गरेको थियो। दार्चुलाको लाली र तिग्रम तथा बैतडीको पञ्चेश्वरमा झोलुंगे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। पञ्चेश्वरमा बन्ने पुलका लागि अहिलेसम्म सहमति नपाएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जनाए।
उनले भने, 'पूल नबन्दा यहाँका बासिन्दा निकै अप्ठ्यारोमा छन्।'
दार्चुलाको लालीमा झोलुंगे पुल निर्माण भइसकेको छ भने तिग्रममा निर्माणकार्य जारी छ। १ करोड ३३ लाखको लागतमा १ सय २४ मिटर लामो झोलुंगे पुल निर्माणको ठेक्का सम्झौता भए पनि काम गर्न नपाएको निर्माण कम्पनी खाम्पाचे शेर्पा निर्माण सेवा प्रालिले जनाएको छ।
पुल निर्माणका विषयमा सम्बन्धित निर्माण कम्पनी र सरकारी कार्यालयसँग छलफल भए पनि निर्माण अघि बढ्न नकसेको प्रदेशसभा सदस्य लिलाधर भट्टले बताए।
'पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डुबान क्षेत्रमा पुल निर्माण हुन लागेको भन्दै भारतले सहमति नदिएको जानकारीमा आएको छ,' उनले भने। अहिले पुल निर्माण गर्ने भनेर तोकिएको ठाउँभन्दा ३ सय मिटर तल सर्भे गरेर सहमतिका लागि भारत सरकारलाई कागजात पठाइएको उनले बताए।
पुल नहुँदा हरेक वर्ष बर्खामा जोखिम मोलेर महाकाली नदी तर्न बाध्य रहेको स्थानीयबासी मोहन चन्द बताउँछन्। पुल अभावमा शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका महाकाली किनारसँग जोडिएका बस्तीका बासिन्दा बढी प्रभावित छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।