गौशाला– प्रदेश २ की सांसद बबितादेवी चौधरीका श्रीमान्ले सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोप लागेको छ। राष्ट्रिय जनता पार्टीका तर्फबाट महोत्तरीबाट प्रदेश सांसद भएकी बबिताका श्रीमान विनय चौधरीमाथि सडक निर्माणमा व्यापक अनियमितता गरेको आरोप लागेको हो।
आर्थिक वर्ष २०७४/०७५ अन्तर्गत सांसद विकास कोषको १० लाख रुपैयाँभन्दा बढी खर्चिएर आफ्नै गाउँमा राष्ट्रिय प्राथमिक विद्यालय बजराही जाने बाटोमा यसै साता गरेको पक्की सडक निर्माणमा विनयले व्यापक भ्रष्टाचार गरेको स्थानीयवासीले आरोप लगाएका छन्।
विनयले स्थानीयवासीको बेवास्ता गर्दै सो सडकमा पक्की ढलानको काम गर्दा होर्डिङ बोर्ड नझुन्डाएको, कतिको लागत, कति मिटरमा काम हुने, कस्तो काम हुने, रड, सिमेन्ट, बालुवाको के–कति भाग हुने जस्ता इस्टिमेटका बारेमा कसैलाई कुनै जानकारी नगराएको स्थानीयवासी वीपेन्द्र पाण्डेले आरोप लगाए।
त्यस्तै सो निर्माण कार्य गर्दा बनेको उपभोक्ता समितिको बारेमा समेत कसैलाई केही थाहा नरहेको स्थानीयवासी लक्ष्मण ठाकुरको भनाइ छ। विनयले सो सडक निर्माण गर्दा स्थानीयवासीले इस्टिमेट, बजेट, होर्डिङबोर्ड लगायतका कुराको माग गर्दै निर्माण रोक्न खोज्दा स्थानीयवासीलाई विनय र उनका सहयोगी नरेश सिंहले गाली–बेइज्जती गर्नाका साथै कुटपिट गर्ने धम्की दिएपछि पछि हटेको स्थानीयवासी रोशन पाण्डेले दावी गरे।
विनयले आफूखुसि मनोमानी ढंगले सडक निर्माण गरेको सम्बन्धमा स्थानीयवासीले जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रलाई जानकारी गराउँदै सो काम रोक्न अनुरोध गर्दा प्रमुख मिश्रले त्यो काम आफ्नो अधिकार क्षेत्रको नभएको भन्दै फर्काइदिएको स्थानीयवासी भिखारी मण्डलले बताए।
त्यस्तै सो समस्या लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जाँदा त्यहाँबाट समेत कुनै सहयोग नमिलेको स्थानीयवासी राजु मण्डलले गुनासो गरे।
स्थानीयले विनय चौधरीले गरेको अनियमितताको बारेमा अख्तियारलगायत सम्बन्धित सम्पूर्ण निकायलाई ध्यानाकर्षण गराउँदै यस कामको स्थलगत निरीक्षण गर्न तथा भ्रष्टाचारीलाई कानूनी कारबाहीको माग गरेका छन्।
स्थानीयवासीले लगाएको आरोपबारे सांसद बबिता चौधरी र उनका पति विनय चौधरीसँग यसबारे जानकारी लिन खोज्दा सांसद चौधरी बिरामी रहेकोले कुरा गर्न नसक्ने जनाइएको थियो। उता उनका पति विनय भने सम्पर्कमा नै आउन चाहेनन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।