काठमाडौँ– यस पटकको एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा नेपालले अब २९ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ। यसअघि कायम भएको २८ खेलमा स्क्वास खेल थप गरिएको हो। स्क्वासमा चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा हुने प्रतियोगितामा स्क्वास थपिएसँगै नेपालको तर्फबाट १ सय ८५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यसअघि १ सय ८१ खेलाडीले सहभागिता जनाउने बताइएको छ।
नेपालले एसियाली खेलकुदमा आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, जुडो, कराँते, कबड्डी, लनटेनिस, सुटिङ, पौडी, तेक्वान्दो, टेबलटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, सेपाकटाक्रो, उसु, स्पोर्टस क्लाम्बिङ, प्याराग्लाइडिङ, कुरास, पेनकक सिटेल, स्केटबोर्ड र स्क्वासमा प्रतिस्पर्धा गर्दैछ।
यता एसियाडमा सहभागी हुने खेलाडीहरुको पोशाक एकैरुपको हुनेभएको छ। प्रतियोगितामा सहभागी हुने १ सय८५ खेलाडीका लागि चाइनाको इजिलिटी ग्रुपले खेलाडीको जुत्तादेखि टोपीसम्म उपलब्ध गराएको हो।
गत अप्रिल १८ तारिखमा दुई पक्षबीच भएको सम्झौता बमोजिम किट्स हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएका किट्समा ट्रयाकसुट, जुत्ता, मोजा, ब्याग, टिसर्टलगायत छन्।
नेपाल ओलम्पिक कमिटीद्वारा आयोजित एक कार्यक्रममा इजिलिटी ग्रुपका निर्देशक अल्बर्ट चाङले आयोजकका अध्यक्ष जीवनराम श्रेष्ठलाई उक्त खेलकूद सामाग्री हस्तान्तरण गरे।
अध्यक्ष श्रेष्ठले खेलकूदको माध्यमबाट दुई देशको सम्बन्ध सुमधुर हुने भन्दै नेपाली खेलकूद क्षेत्रको विकासका लागि चाइनाले महत्वपूर्ण सहयोग गर्दै आएको बताए।
त्यस्तै इजिलिटी ग्रुपका निर्देशक चाङले नेपाली खेलाडीले एसियाडमा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।